युवा संघ ताप्लेजुङको नेतृत्वलाई गराईयो शपथग्रहण

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराईएको छ ।
अध्यक्ष मण्डलले मानिक तुम्बाहाम्फे अध्यक्ष रहेको ४१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो । सोहिअनुसार अध्यक्ष मण्डलका सदस्य,एमाले ताप्लेजुङका जिल्ला सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अम्बिका नुगो लिम्बूले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको अध्यक्ष मण्डलका सदस्य हेमराज निरौलाले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको बैशाख १८ गते भएको अधिबेशनको बन्दसत्रमा क्रममा बिबाद समेत भएको थियो । सर्वसम्मतका नाममा अध्यक्ष मण्डलले एकलौटी नेतृत्व चयन गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले बिरोध जनाएको थियो । शपथग्रहण पछि प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष तुम्बाहाम्फेले बैशाख १८ गते युवा संघ नेपालको अधिबेशनको क्रममा केहि बिबाद देखिएपनि अब युवा संघ नेपाल एकढिक्का भएर अघि बढ्ने बताउनु भएको थियो ।