ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलमा जङ्क फुड निशेध,सातामा एकदिन ‘पेपरलेस’ गरेर जीवन उपयोगी सिकाई

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २८ । ताप्लेजुङको फुङलिङस्थित ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले बिद्यालयमा जङ्क फुड(पत्रु खाना) निशेध गरेको छ भने प्रत्येक साताको शुक्रवार ‘पेपरलेस’गरेको छ ।
बिद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रकुमार गुरुङका अनुसार बिद्यार्थीको स्वास्थ्यलाई ख्याल गरेर बिद्यालयमा जङक फुडमा प्रतिवन्ध गरिएको हो । जङ्क खाना भनेको यस्तो खाना हो,जसमा प्रयोगशालामा परीक्षण गर्दा उच्च क्यालोरी भएको त पाइन्छ तर, ती खाना खाँदा प्रयोगशालामा परीक्षण गर्दा देखिने जस्तो पोषण तत्वहरू भने शरीरले प्राप्त गर्दैन । प्रायः सबैनै जङ्क फुड नून, चिनी र फ्याटको संयोजनबाट तयार हुने गर्छन् । नून,चिनी र फ्याटको एउटा यस्तो संयोजन, जसले गर्दा खाना अत्यन्त आकर्षक देखिन्छ । खानाबाट आउने बास्ना लोभलाग्दो हुन्छ । खाँदासमेत धेरै मीठो महशुष हुन्छ । एकचोटि उक्त खाना खाएपछि पुनः पटक पटक खान मन लाग्ने एक प्रकारको एडिक्सन वा तलतल लाग्ने हुन्छ । तर वास्तविकतामा भने खानाबाट अनिवार्यरूपमा प्राप्त गर्नुपर्ने शरीरका लागि उच्च महत्व रहने खाद्य,पोषण तथा हिलिङ्गको तत्वमै कमी रहेको हुन्छ । यसले मानव शरिरको स्वास्थ्यलाई बिगार्छ ।‘आधारभूत तहबाटै जङक फुडमा प्रतिवन्ध गरेर बिद्यार्थीको स्वास्थ्यमा असर गर्न नदिन बिद्यालयले जङ्क फुडमा प्रतिवन्ध गर्ने निर्णय गरेको हो’प्रिन्सिपल गुरुङले भन्नुभयो ।
तयारी चाउचाउ, बिस्कुट,आलु चिप्स,दालमोठ,चकलेट,केक,आइसक्रिम,गुलिया पेयपदार्थ,इनर्जी ड्रिङ्क्स,मिठाईहरु,डिप फ्राइ गरेका खाना जङ्क फुडमा पर्छन् । बिद्यालयले हरेक साता एकदिन ‘पेपरलेस’कार्यक्रम सुरु गरेको छ । ‘पेपरलेस’कार्यक्रम अन्तरगत साताको हरेक शुक्रवार बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा केन्द्रित गरिन्छ । जसमा तालिका बनाएर दैनिक जीवनमा प्रयोग हुने बात्ति कात्ने,दुनाटपरी बन्ने,योगाभ्यास गराउने,ब्याडमिन्टन र भलिबल प्रतियोगिता गराउने,वाक कलाको विकासका लागि अनुशिक्षण गराउने,नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने,निवन्ध र हिज्जे प्रतियोगिता गराउने सहितका कार्यक्रम हुनेछन् । आधारभूत तहबाटै दैनिक उपयोगी सीप सिकाईमा केन्द्रित गर्न आफुहरुले यस्तो अभियान चलाएको बिद्यालयका प्रिन्सिपल गुरुङले जानकारी दिनुभयो ।
कार्यतालिकानै बनाएर दैनिक उपयोगी शिक्षण सिकाईलाई अघि बढाउँदा बिद्यार्थीको सिकाईमा नयाँपन आउने तथा बिद्यार्थीको शैक्षिक मानसिकता समेत बलियो र प्रभावकारी हुने विज्ञहरु बताउँछन् ।‘हामीले बिद्यार्थीको पढाईलाई प्रभावकारी बनाउन शिक्षण सिकाईमा नयाँ प्रयोग गर्ने कोशिष गरेका हौं’प्रिन्सिपल गुरुङले भन्नुभयो । विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलाप मुख्य साधक पनि मानिन्छ ।