फुङलिङ नगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिलाई सहयाता सामग्री प्रदान गर्न सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि सहायता सामाग्री वितरण गर्न थालेको छ ।
नगरपालिकाले वडा नं ४,५,६ र ७ का सहायता सामाग्री प्राप्त गर्न पहिचान भएका अपाङ्गता भएका व्यक्तिलाई बुधवार संयुक्त रुपमा ति सामाग्री हस्तान्तरण गरेको फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले जानकारी दिनुभयो । कोशी प्रदेश सरकार,करुणा फाउण्डेसन र नगरपालिकाको संयुक्त प्रयासमा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री हस्तान्तरण गरिएको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमका फुङलिङ नगर संयोजक चन्द्र थापाले जानकारी दिनुभयो ।
नगरप्रमुख अमिर मादेन,उपप्रमुख ओझा,फुङलिङ नगरपालिका वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा र वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । नगरप्रमुख मादेनले अपाङगता भएका व्यक्तिका लागि आवश्यक पर्ने सामाग्री सहयोग,सीप विकास,स्वास्थ्य परीक्षण र उनीहरुको दैनिकजीवन सहज बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । नगरपालिका क्षेत्रमा ४ सय ९७ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसमध्ये १ सय ७६ जनालाई सहायता सामाग्री प्रदान गर्नुपर्ने गरी पहिचान भएको छ । सहायता सामाग्रीमा शौचालय कुर्सी, वैशाखी र श्रवण यन्त्र सहितका सामान हुनेछन् ।
अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सुरु भएको करिव बर्षदिन हुन लागेको छ । यो अवधि कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिको पहिचान,उनीहरुको स्वास्थ्य परीक्षण,सहायता सामग्रीको सूची तयार र सामग्री बितरणका कार्यक्रम सुरु भएका छन् । कार्यक्रममार्फत मिलीजुली समूह गठन गरी समूहमार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको सीप अनुसार उद्यममा जोड्ने प्रयत्न समेत हुने छ । बिहीबार पालिकाको वडा नं १,२ र ३ मा सहायता सामग्री हस्तान्तरणको कार्यक्रम राखेको नगरपालिकाले जनाएको छ ।