महशुल निःशुल्क गरेको आठराई त्रिबेणीले भन्यो‘अत्यावश्यक बाहेक बिलासी सामग्रीमा विद्युतको प्रयोग नगर्नू’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनावश्यक रुपले विद्युत खपत नगराउन तथा अनिवार्य आवश्यकता भन्दा बिलासी प्रयोजनमा समेत विद्युत खपत भइरहेको भन्दै त्यस्ता कार्य नदोहो¥याउन पालिकाबासीलाई आग्रह गरेको छ ।

पालिकाभरी घरायसी प्रयोजनको विद्युत महशुल निःशुल्क गरेको पालिकाले पालिकाबाट प्रदान भएको सुविधालाई दुरुपयोग गरेको खण्डमा खपतदरमा अस्वभाविक बृद्धिभई पालिकाले निःशुल्क विद्युत महशुलका लागि बिनियोजन गरेको रकमले नधान्नेतर्फ लाभग्राहीलाई सचेत गराएको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले अब उप्रान्त समेत त्यस्ता कार्य गरेको पाईए सम्वन्धित उपभोक्तालाई कारवाही गर्ने तथा विद्युत पहुँच समेत काटिने अवगत गराउनु भएको छ । पालिकाले विद्युत उपभोगमा मितव्ययिता कायम गर्न,अनावश्यक विद्युत खपत नगर्न र आवश्यकताका विद्युतीय सामग्री बाहेक बिलासीको काममा विद्युत प्रयोग नगर्न लाभग्राहीलाई आग्रह गरेको छ ।

पालिका अध्यक्षमा पोमू निर्वाचित भएपछि पोमूले पदभार ग्रहण गरेकैदिन पालिकाभरीका लाभग्राहीले घरायसी प्रयोजनमा प्रयोग गरेको विद्युत महशुल पालिकाले तिर्ने घोषणा गर्दै कार्यान्वयनमा लैजानु भएको थियो । पोमूको उक्त घोषणासंगै पालिकाले निःशुल्क विद्युत महशुल भुक्तानी सम्वन्धी कार्यविधि २०७९ जारी गरी कार्यान्वयनमा लगेको छ । कार्यविधि अनुसार पालिकाले आन्तरिक आयबाट पालिकाभरीका लाभग्राहीको घरायसी प्रयोजनमा प्रयोग भएको विद्युत महशुल भुक्तानी गर्दै आइरहेको छ ।

 

Similar Posts