अध्यक्ष मण्डलद्धारा युवा संघ ताप्लेजुङका पदाधिकारी तथा सदस्यको नाम घोषणा,अध्यक्षमा मानिक

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २१ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला अधिबेशनका लागि गठित अध्यक्ष मण्डलले मानिक तुम्बाहाम्फे अध्यक्ष रहेको ४१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको नामावली सार्वजनिक गरेको छ ।

अध्यक्ष मण्डलले सार्वजनिक गरेको नामावली अनुसार उपाध्यक्षमा दिलकुमार सुनुवार,सचिवमा डेभिड लिम्बू,उपसचिवद्धयमा प्रकाश एभेङ र बरुण लिम्बू र कोषाध्यक्षमा सुनिता यक्सो लिम्बू रहनु भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष निरोज पौडेलद्धारा गरिएको कमिटी घोषणा अनुसार साइवर सर्कल प्रमुखमा श्रीहाङ लिम्बू,युवा विज्ञ परिषद्मा केशव पौडेल र युथफोर्स प्रमुखमा पारुहाङ लिम्बू रहनु भएको छ ।

युवा संघ नेपालको दशौं जिल्ला अधिबेशनको बन्दसत्रका क्रममा दुईपक्षबिच भएको मतभेद कुर्सी हानाहान सम्ममा परिणत भएको थियो । अध्यक्ष मण्डलले सर्वसम्मत भनेर कमिटीका पदाधिकारी तथा सदस्यहरुको नामावली बाचन गर्ने क्रममा सुरु भएको बिवाद घम्साघम्सी सम्ममा परिणत भएको थियो । बैशाख १८ गते सुरु भई १९ गते बन्दसत्र सुरु हुने गरी अध्यक्ष मण्डलले कार्यक्रम घोषणा गरेपनि बन्दसत्रका थप कार्यक्रम अघि नबढेको भन्दै असन्तुष्ट पक्षले १९ गते अपरान्ह पत्रकार सम्मेलननै आयोजना गरेको थियो ।

अधिबेशनका लागि युवा संघका केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी इञ्चार्ज पौडेल अध्यक्ष रहेको अध्यक्ष मण्डल बनेको थियो । अध्यक्ष मण्डलमा युवा संघका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सहइञ्चार्ज ज्ञानेन्द्र राई,संगठनका केन्द्रीय सदस्य सुमना लिवाङ,एमाले ताप्लेजुङका लेखा कमिटी संयोजक दीपक धिताल,जिल्ला कमिटी सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अम्बिका नुगो,जिल्ला कमिटी सचिवालय सदस्य लेखनाथ भट्टराई र संगठनका पूर्व कोशी प्रदेश कमिटी सदस्य हेमराज निरौला सदस्य रहनु भएको थियो ।

Similar Posts