सिदिङ्वामा वडा-वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा वडा–वडामा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ । गाउँपालिकाले वडा वडामा सञ्चालन गरेको घुम्ती शिविरमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिएको हो ।
सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर ४ साब्लाखु र नजिकैको वडा ५ लिम्बुदिनबाहेक अन्य वडामा शिविर सञ्चालन गरिएको थियो । गाउँपालिकाको वडा १ कालीखोला, वडा २ सादेवा, वडा ३ आङ्खोप, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ ।
उक्त वडाहरुमा सञ्चालित शिविरमा २३ जना गर्भवती महिलाको भिडियो एक्स–रेमार्फत गर्भ परीक्षण गरिएको सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार आङ्खोप र मेहेलेमा समान आठ–आठ जना तथा सुरुम्खिममा सात जना गर्भवती महिलाको गर्भ परीक्षण गरिएको छ ।
यता शिविर सञ्चालन गरिएका वडामध्ये कालीखोला र सादेवामा गर्भवती महिला नरहेको पाइएको उहाँले जानकारी दिनुभयो । गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी वडा वडामा घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भ परीक्षण सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । वडा ४ साब्लाखु र ५ लिम्बुदिनका सेवाग्राहीका लागि साब्लाखु स्वास्थ्य चौकी नजिक रहेकाले उक्त वडाहरुमा शिविर सञ्चालन नगरिएको पनि गाउँपालिकाले जनाएको छ ।
यस्तै घुम्ती शिविरमा गर्भ परीक्षण सेवासँगै टी.वी. रोग शंकास्पद भएका १०१ जना सर्बसाधारणको खकारको नमुना संकलन गरिएको छ । शिविरमार्फत नै वडा ३ आङ्खोपका ७० वर्ष पुगेका १८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा पनि गरिएको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । शिविरमा ३८ जना अपांगता व्यक्तिलाई सहयोगी सामग्री वितरण गरिएको छ भने ४४४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो ।
वडाहरुमा सञ्चालित घुम्ती शिविरमार्फत गाउँपालिकाअन्तर्गत स्वास्थ्यसहित सम्बन्धितका शाखाका कर्मचारीको प्रत्यक्ष सहभागितामा विभिन्न सेवा प्रदान गरिएका हुन् । त्यस्तै गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), वडाका जनप्रतिनिधि लगायतले घुम्ती शिविरमा सहभागिता जनाउनुभएको थियो । यता वडा–वडामा घुम्ती शिविर सञ्चालन गरी गाउँपालिकाले विभिन्न सेवा प्रवाह गरेकाले सेवाग्राहीलाई राहत पुगेको बताइएको छ ।