| |

काँग्रेसको तीन भातृ संस्थाको जिल्लामा एकसाथ नेतृत्व चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २० । ताप्लेजुङमा सत्ता साझेदार दल नेपाली काँग्रेसनिकट तीनवटा भातृ संस्थाको नयाँ नेतृत्व एकसाथ चयन गरिएको छ । भातृ सङ्गठनहरु नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघ र आदिवासी जनजाति विभागीय समितिको नेतृत्व एकसाथ चयन गरिएको हो ।
नेपाली काँग्रेस ताप्लेजुङका सचिव युकहाङबिर हाङगाम (डम्बर) का अनुसार उक्त तीन भातृ संस्थाको एकै दिन संयुक्त जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गरिएको हो । मेरिङ्देन गाउँपालिका अध्यक्षसमेत रहनुभएका हाङगामले तीनवटै संस्थाको प्रथम अधिवेशन एकसाथ सम्पन्न गरिएको जानकारी दिनुभयो ।
सदरमुकाम फुङ्लिङमा सम्पन्न गरिएको अधिवेशनबाट दादार्ची शेर्पा अध्यक्ष रहेको १९ सदस्यीय नेपाल लोकतान्त्रिक शेर्पा संघ जिल्ला कार्यसमिति चयन भएको छ । कार्यसमिति उपाध्यक्षमा काजी शेर्पा, सचिव शंकर शेर्पा (तेन्जिङ) सहसचिव ल्हाक्पा कर्मा शेर्पा र कोषाध्यक्षमा सुशीला शेर्पा चयन हुनुभएको छ ।
यस्तै नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको जिल्ला अध्यक्षमा जुनकला लिम्बू चयन हुनुभएको छ । संघको कार्यसमिति उपाध्यक्षमा सीता लेछर्बो, सचिव डिल्ली फुरुम्बो, सहसचिव शर्मिला बान्तावा राई र कोषाध्यक्षमा शिवकला केदेम लिम्बू चयन हुनुभएको छ । लिम्बू संघका केन्द्रीय सदस्य प्रमिला जबेगुको प्रमुख आतिथ्यतामा जिल्ला कार्यसमिति चयन गरिएको बताइएको छ ।
यसैगरी मिङमा वाङगेल शेर्पा अध्यक्ष रहेको आदिवासी जनजाति विभागीय समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा टंकराज वनेम, सचिव मनमाया तामाङ, सहसचिव हिमकला गुरुङ र कोषाध्यक्षमा जुनकला लिम्बू चयन हुनुभएको छ । तीनवटै भातृ संस्थाको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि शिला इजमले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लास्तरीय पार्टी नेतृत्व लगायतको उपस्थिति रहेको थियो ।

Similar Posts