युवा संघको ताप्लेजुङ जिल्ला अधिबेशन बिबाद,असन्तुष्ट पक्षद्धारा बन्दसत्र र नेतृत्व चयन सुरु गर्न माग

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १९ । राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दशौं जिल्ला अधिबेशनको क्रममा देखिएको बिबादसंगै असन्तुष्ट पक्षले पत्रकार सम्मेलनमार्फत अध्यक्ष मण्डल आफैंले तोकेको बन्दसत्र अवधिमा उपस्थित नभएर जबरजस्त अघि बढ्न खोजेको दावी गरेको छ ।
असन्तुष्ट पक्षकातर्फबाट आयोजित पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा बैशाख १९ गते मध्यान्हदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्नेभनी अध्यक्ष मण्डलले मिति निर्धारण गरेको तर सो समयमा पुग्दा अधिबेशनस्थलमा कोहि नभएको दावी गरिएको छ । विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीमा उपसचिव नवीन रेग्मी,कोषाध्यक्ष प्रकाश एभेङ र पूर्व सदस्य दिलकुमार सुनुवारको हस्ताक्षर रहेको छ । विज्ञप्तिमा युवा संघको स्थगित भएको जिल्ला अधिबेशन पुनःसुचारु गरी लोकतान्त्रिक ढंबाट नयाँ नेतृत्व चयन प्रकृया अघि बढाउन माग गरिएको छ । विज्ञप्तिको बाचन भने एमाले ताप्लेजुङका पूर्व उपसचिव मणिशंकर पोमूले गर्नु भएको थियो ।
विज्ञप्तिमा बन्दसत्रमा संगठनकोतर्फबाट प्रतिबेदन प्रस्तुत पश्चात नयाँ नेतृच्व चयनको कुनैपनि औपचारिक कार्यक्रमको घोषणा नगरी अध्यक्ष मण्डलले नयाँ नेतृत्व घोषणा गर्ने गम्भिर त्रुटी गरेको दावी गरिएको छ । त्यसपछि भएको बिबादसंगै अध्यक्ष मण्डलले बैशाख १९ गते मध्यान्ह अधिबेशनका अरु कार्यक्रम अघि बढ्नेगरी अधिबेशनस्थल एमाले पार्टी कार्यालयमा सूचना समेत टाँस गरेको तर उक्त अवधिमा निर्वाचन मण्डल उपस्थित नभएको दावी समेत पत्रकार सम्मेलनमा गरिएको छ । मतदाता नामावली प्रकाशन,मनोनयन दर्ता समेत नभई एकैपटक नयाँ नेतृत्वको नामावली बाचन गर्नु गैर लोकतान्त्रिक भएको दावी समेत विज्ञप्तिमा गरिएको छ ।
केन्द्रीय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नु भएको युवा संघ नेपाल ताप्लेजुङको अधिबेशनमा केन्द्रीय सचिव तथा कोशी इञ्चार्ज निरोज पौडेलको संयोजकत्वमा अध्यक्ष मण्डल बनेको थियो । अध्यक्ष मण्डलले जबरजस्त नाम पढ्न थालेपछि आफुहरुले त्यसको प्रतिवाद गरेको र अध्यक्ष मण्डल आफैंले बैशाख १९ गतेका लागि बन्दसत्रको कार्यक्रम सुरु गर्नेभनि सूचना टाँस गरी अधिबेशन स्थलमा नआएको दावी असन्तुष्ट पक्षले गरेको छ । उक्त पक्षले एमाले पार्टी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरेको थियो । यसका बारेमा बुझ्न अध्यक्ष मण्डलका संयोजक पौडेलसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
बिहीबार सुरु भएको युवा संघ नेपालको बन्दसत्रका क्रममा भएको बिबादसंगै दुईपक्षबिच कुर्सी हानाहान सम्मका घटना भएका खबर बाहिरिएका थिए । पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश कमिटी सदस्य मात्रिकाप्रसाद भट्टराई,कोशी प्रदेशका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ,पोमू,एमाले फुङलिङ नगर कमिटी अध्यक्ष ज्ञानु लावती,एमाले पाथीभरा याङवरक कमिटी अध्यक्ष टीका सुनुवार सहित उपस्थित हुनुहुन्थ्यो । साम्सोहाङ र पोमू एमाले जिल्ला अधिबेशनमा क्रमशःअध्यक्ष र सचिवमा पराजित भएका थिए ।