सिनाम माविमा ४० जना बिद्यार्थीले खानबस्न सहितको अध्ययन सुबिधा पाउने,तीनसय बढीलाई छात्रावासको व्यवस्था

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ स्थित सिनाम माध्यमिक बिद्यालयले चालु शैक्षिक सत्रमा ४० जना बिद्यार्थीलाई खानबस्न सहितको आवासीय अध्यापन गराउने भएको छ ।

नेपाल सरकारको हिमाली आवासीय छात्रावास कार्यक्रम अन्तरगत चालु शैक्षिक सत्रबाट यस्तो सुबिधा सहितको अध्यापन सुरु गर्न लागिएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि १२ सम्मका ४० जना बिद्यार्थीले खानबस्न सहितको आवासीय अध्यापन सुबिधा पाउने छन् । ४० मध्ये १० जना शारीरिक अक्षमता(अपाङ्गता)भएका व्यक्तिले सुबिधा लिन सक्नेछन् भने बाँकी ३० जनामध्ये आर्थिक रुपले अति विपन्न,असाहाय,अभिभावकको संरक्षकविहिन र आर्थिक विपन्नताका कारण शिक्षण संस्थाको पहुँचमा पुग्न नसक्ने प्रकृतिका बिद्यार्थीले सुबिधा लिनसक्ने छन् ।

बिद्यालयले ४० जना बिद्यार्थी हिमाली आवासीय छात्रावास कार्यक्रम कार्यान्वयन निर्देशिकाको परिधिभित्र रही छनौट गर्ने जनाएको छ । प्रधानाध्यापक गौतमले बिद्यालयले तीनसय जनालाई छात्रावास सुविधा उपलब्ध गराउने जानकारी दिनुभयो । त्यसमा १ सय ५० छात्र र १ सय ५० छात्रा हुनेछन् । बिद्यालयले करिव ५ सय सम्मलाई छात्रावास सुबिधाका उपलब्ध गराउन सक्नगरी तयारी गरिरहेको गौतमले जानकारी दिनुभयो । गत फागुन पहिलो साता सरकारले सिनाम मावि सहित देशभरका १० बिद्यालयलाई हिमाली आवासीय छात्रावास कार्यक्रमका लागि छनौट गरेको थियो ।

सिनाम माध्यमिक बिद्यालयमा सिनाम बहुमुखी क्याम्पसमार्फत स्नातक तहसम्म अध्यापन हुँदै आएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा पाथीभरा बहुमुखी क्याम्पस रहेको छ । पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहसम्मको अध्यापन हुँदै आएको छ । सदरमुकाम बाहिर भने सिनाम बहुमुखी क्याम्पसले स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ ।

Similar Posts