५५ करोड लागतमा पूर्वी पहाडी क्षेत्रमा ५ जिल्लामा वन,भूमि र जैविक विविधताको दिगो व्यवस्थापन आयोजना

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १६ । पूर्वी पहाडी भेगमा वन,भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिबृद्धि आयोजना सञ्चालनले निरन्तरता पाउने भएको छ ।
विश्व वातावरण सुविधा(जिईफ)को आर्थिक सहयोगमा पूर्वी पहाडी क्षेत्रका ताप्लेजुङ,तेह्रथुम,पाँचथर,इलाम र संखुवासभाका ३४ स्थानीय तहमा यो कार्यक्रमले निरन्तरता पाउने डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी परमेश्वर पासवानले जानकारी दिनुभयो । कार्यक्रम ५ जिल्लाका १ सय ८६ वडामा कार्यान्वयन हुने छ । यो कार्यक्रमले ३ लाख ५७ हजार ५ सय हेक्टर वन क्षेत्र ओगट्ने भएको छ । कार्यक्रमबाट कुल २७ हजार घरधुरी प्रत्यक्ष लाभाविन्त हुने अनुमान गरिएको छ । विश्व वातावरण सुविधाबाट खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने ४१ लाख ८७ हजार ९ सय अमेरिकी डलर अर्थात् करिव ५५ करोड रुपैयाँ आयोजनाको कुल लागत हुने छ ।
सन् २०२७ को अप्रिल महिनासम्म परियोजना अवधि रहेको कार्यक्रम सन् २०२३ को अप्रिल देखि कार्यान्वयनमा आउन थालेको हो । आगामी आर्थिक बर्षमा समेत कार्यक्रमले निरन्तरता पाउने डिभिजन वन कार्यालयले जनाएको छ । अघिल्लो बर्ष ताप्लेजुङका लागि करिव १ करोड रुपैयाँ प्राप्त भएकोमा आगामी आर्थिक बर्ष २०८२।८३ मा ५ करोड हाराहारी रुपैयाँ प्राप्त हुने अनुमान सहित प्रस्तावित कार्यक्रमको तयारी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । जैविक विविधताले भरिपूर्ण पूर्वी नेपालको तीनजुरे–मिल्के–जलजले,माई उपत्यका र तमोर उपत्यका क्षेत्रमा कार्यक्रम केन्द्रित हुने छ । आयोजनाले कोशी प्रदेशको २६ हजार १ सय ९ दशमलव ७ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३ हजार ५ सय ७५ वर्गकिमी क्षेत्रफललाई ओगटेको छ ।
नेपालको पूर्वी पहाडी भेगमा संरक्षित क्षेत्रभन्दा बाहिर विश्वव्यापी रुपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरुको प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रम कार्यान्वयनमा आएको हो । परियोजना समाप्ति पछि जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली पुर्नस्थापना तथा क्षतिग्रस्त भूमि तटस्थताका लागि अनुकूलित र साझेदारीमा भूपरिधिस्तरीय योजना तर्जुमा तथा व्यवस्थापनका लागि प्रादेशिक तथा स्थानीय सरोकारवालाको क्षमता अभिबृद्धि हुने कार्यक्रम गरिने छ । यस्तै स्थानीय,प्रादेशिक तथा राष्ट्रिय स्तरका सरोकारवालासंग वन व्यवस्थापन,भू–उपयोग र जैविक विविधता संरक्षण योजना व्यवस्थापन र कार्यान्वयनका लागि आवश्यक जानकारीमा पहुँच पुग्ने प्रकृतिका कार्यक्रम सञ्चालन हुनेछन् ।
स्थानीय सरोकारवालाले जैविक विविधता र दिगो स्थानीय जीविकोपार्जनका लागि समुदायमा आधारित संरक्षण तथा दिगो उत्पादन,व्यवस्थापन र पुर्नस्थापनाका अभ्यासहरु लागु गर्नेगरी कार्यक्रम सञ्चालन गरिने छ । परियोजना कार्यान्वयनका लागि कोशी प्रदेश सरकारको पर्यटन,वन तथा वातावरण मन्त्रालयमा आयोजना व्यवस्थापन इकाई रहेको छ भने कार्यक्रम सञ्चालन भएका ५ वटै जिल्लाका डिभिजन वन कार्यालयहरु आयोजना सहयोग इकाईको रुपमा रहने छन् । परियोजना अन्तरगत ताप्लेजुङका फुङलिङ नगरपालिका,आठराई त्रिबेणी गाउँपालिका,मैवाखोला गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका सम्पूर्ण वडाहरुमा कार्यक्रम सञ्चालन हुनेछ । सिदिङ्वा गाउँपालिकाको वडा नं २,३,४,५ र ६,सिरिजङ्गा गाउँपालिकाको १,२,३,४ र ५,फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकाका वडा नं १,२ र ३ र मेरिङदेन गाउँपालिकाका वडा नं १,२,३,४ र ५ परियोजनाको कार्यक्षेत्रमा रहनेछन् ।