मंगलवारबाट नियमित पठनपाठन गर्न सिदिङ्वाको आग्रह,सम्झायो संबिधान र स्थानीय सरकारको व्यवस्था

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले मंगलवारबाट पालिका क्षेत्रका सम्पूर्ण बिद्यालयको पठनापठन सुरुचारु गर्न पालिका क्षेत्रका शिक्षक तथा कर्मचारीलाई आवह्वान गरेको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष मानबहादुर राईले सोमवार अपरान्ह सूचना आवह्वान गर्दै विद्यालयहरु बन्द रहने अवस्था आएको खण्डमा कानुन बमोजिम अधिकार प्रयोग गरी आवश्यक कारवाही अघि बढाउने चेतावनी पनि दिनु भएको छ । पालिका अध्यक्ष राईद्धारा जारी सूचनामा बैशाख १६ गते मंगलवारबाट पालिका क्षेत्रका बिद्यालयहरुमा पठनपाठन सुरु गरी अन्य आवश्यक शैक्षिक गतिविधिलाई तीव्रता दिन भनिएको छ । पालिकाले बिद्यालय जान पाउने र पढ्न पाउने बिद्यार्थीको नैसर्गिक अधिकारको सम्मान गर्दै शिक्षकको पेशागत जिम्मेवारी समेतलाई आत्मसाथ गर्न समेत सूचनामा भनेको छ ।
सिदिङ्वा गाउँपालिकाले शिक्षक तथा कर्मचारीले उठाएका मागलाई संघीय सरकारले नियम र नीतिसंगत ढंगबाट पूरा गरी शिक्षकको हकहित रक्षाका लागि अग्रसर हुन समेत आग्रह गरेको छ । शिक्षा क्षेत्रको स्थायित्व,प्रगति र शिक्षकहरूको आत्मसम्मान कायम राख्दै आफ्नो कार्यस्थलमा फर्कने उचित वातावरण निर्माणको लागि सिदिङवा गाउँपालिका सधै सकारात्मक रहेको र जायज मागहरूको सम्बोधनको लागि गाउँपालिकाकोतर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता समेत गाउँपालिकाले व्यक्त गरेको छ ।
आन्दोलन लम्बिदै जाँदा विद्यालय बन्दभई सार्वजनिक शिक्षामा थप क्षति पुग्ने,अवरुद्ध शैक्षिक प्रकृयाको कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावको विश्वास घट्दै जाने र समग्र शैक्षिक सूचकाङ्कमा नकरात्मक असरपर्ने सिदिङ्वाले ठम्याएको छ । सिदिङ्वा गाउँपालिकाले नेपालको संबिधान २०७२ को अनुसूची–८ मा भएको प्रावधान अनुसार स्थानीय तहको एकल अधिकारको रुपमा रहेको सूचीको क्रमसंख्या ८ मा रहेको आधारभूत तह र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन,नियमन र नियन्त्रणको अधिकार समेत सम्झाएको छ । उसले सिदिङ्वा गाउँ शिक्षा ऐन २०८० को व्यवस्थातर्फ समेत ध्यान दिन शिक्षकहरुलाई भनेको छ ।