पाथीभरा पदमार्ग क्षेत्रमा बन्यो ‘नेपाल प्रहरी फलैंचा’

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १५ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)रवि रावलको सक्रियतामा पाथीभरा पदमार्ग क्षेत्रमा ‘नेपाल प्रहरी फलैंचा’ निर्माण भएको छ ।
पाथीभरा पदमार्गको करिव ३ हजार ६ सय ५० मिटर उचाईमा फलैंचा निर्माण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पाथीभरा क्षेत्रको सिम्बुवा सामुदायिक वन उपभोक्ता समूहसंगको समन्वय तथा सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमार्फत उक्त फलैंचा निर्माण भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ सहितको उपस्थितिमा फलैंचा निर्माण भएको क्षेत्र वरपर लौठसल्लाको बिरुवा रोपण समेत गरिएको छ । फलैंचा निर्माणमा उल्लेख्य सहयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतलाई जिल्ला प्रहरी कार्यालयले कदरपत्र समेत प्रदान गरेको छ । दर्शनार्थीको यात्रा सहजताका लागि त्यहाँ फलैंचा निर्माण गरी विधिवत् उद्घाटन समेत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।