सुरुभयो सिरिजङ्गा महोत्सव

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनस्थित नयाँ झोरनीमा शनिवारबाट तीनदिने सिरिजङ्गा महोत्सव सुरु भएको छ । महोत्सव बैशाख १५ गते सम्म चल्ने छ ।
पालिका अध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूका अनुसार समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता हुने छ । उहाँका अनुसार म्याराथन प्रतियोगिताका विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार दिइने छ । यस्तै दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । सोही उचाइलाई आधार मानेर अन्तिम पुरस्कार राशि पनि ८ हजार ५ सय ८६ को रुपमा मिलाइएको हो । म्याराथनका लागि नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ–दुण्दुडाँडा–ढाँडचौक–भेडी चोक हुँदै मछेवा पुग्ने करिब २४ किलोमिटर दूरीमा तय गरिएको छ । म्याराथनसँगै माउन्टेन साइक्लिङ समेत सञ्चालन गर्ने पालिकाको तयारी छ । त्यहाँ बिभिन्न साँस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत हुने छ ।