मैवाखोलाद्धारा दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालनका लागि वडा स्तरीय राय संकलन सुरु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालनका क्रममा वडा स्तरीय सुझाव संकलन कार्य थालेको छ ।
शुक्रवार पालिकाको वडा नं १ बाट सुझाव संकलन सुरु गरिएको गाउँपालिकाका प्रवक्ता तथा पालिकाको वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार वडा नं १ को सुझाव संकलनका क्रममा ६३ दलित घर परिवार उपस्थित हुनुहुन्थ्यो । पालिकाले प्रत्येक वडामा पुगेर सुझाव संकलन गर्ने तयारी गरेको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेम,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन,कार्यपालिका सदस्य र पालिकाका वडा सदस्य समेतको उपस्थितिमा सुझाव संकलन कार्य पूरा भएको तामाङले बताउनुभयो ।
मैवाखोलाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि समेत यसअघि नै तयार गरी स्थानीय राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । राजपत्रमा प्रकाशित भएसंगै उक्त कार्यविधि कार्यान्वयनमा आएको हो । कार्यविधि कार्यान्वयन गर्दै गाउँपालिकाले वडा स्तरीय सुझाव संकलन कार्य अघि बढाएको जनाएको छ ।
दलित लक्षित सीप तथा चेतनामुलक कार्यक्रम सञ्चालन गर्न,दलित समुदायका जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्न,निरक्षर व्यक्तिको तथ्याङ्क संकलन गरी साक्षर अभियानमा जोड्न,दलित समुदायको परम्परागत सीप र संस्कृतिको जर्गेना गर्न,विपन्न दलित समुदायलाई आवास,खानेपानी,शौचालय र गोठ सुधार सहितका पूर्वाधारमा सहयोग गर्न र दलित समुदायको आर्थिक जीवनस्तर सुधार्ने प्रकृतिका स्वरोजगार सम्वन्धी कार्यक्रम गर्न पालिकाले चालु बर्षबाट १० लाख रुपैयाँको कोष स्थापना गरी कार्यक्रम अघि बढाएको हो ।