आठराई त्रिबेणीमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सुरु गरिएको छ । गाउँपालिकाका सबै पाँचवटै वडामा सञ्चालन गर्नेगरी आयुर्वेदिक स्वास्थ्य शिविर बुधबारदेखि सुरु गरिएको हो ।
आठराई त्रिबेणी गाउँपालिकाको आयोजना तथा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको संयोजनमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सुरु भएको हो । आउँदो बैशाख १७ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन वडा १ निघुरादिनमा शिविर सम्पन्न भएको छ । निघुरादिनमा सञ्चालित शिविरमार्फत १२२ जना सेवाग्राहीले सेवा प्राप्त गरेका गाउँपालिकाका रोजगार सहायक नारद गुरागाईले जानकारी दिनुभयो ।
गुरागाईका अनुसार शिविरमा वैद्य ध्यानकुमारी मगर नेतृत्वको टोलीले सेवा प्रवाह गर्नुभएको छ । आयुर्वेदिक स्वास्थ्य शिविरमार्फत ग्यास्ट्रिक, रुघाखोकी, पिनास, एलर्जी, माइग्रेन, पायल्स, फिसर, फिस्टुलाका समस्या भएका सेवाग्राहीलाई औषधी वितरण गरिएको छ । यस्तै हाडजोर्नी दुखाई, यौन रोग, सुगर, प्रेसर, कोलेस्ट्रोलसम्बन्धी समस्या भएका विरामी तथा सेवाग्राहीलाई निःशुल्क रुपमा औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य शिविर बिहीबार वडा २ फुलबारी, आउँदो सोमबार र मंगलबार क्रमशः वडा ४ र ५ चाँगे तथा बुधबार वडा ३ हाङ्पाङमा सञ्चालन हुने पनि गाउँपालिकाले जानकारी दिएको छ । चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सुरु गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले जानकारी दिनुभयो । शिविरले पालिकाका नागरिकलाई राहत पुग्ने विश्वास गरिएको गाउँपालिका अध्यक्ष पोमुको भनाइ छ ।