टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा एक पत्रकार,एक समाजसेवी र रेडक्रस ताप्लेजुङको उत्कृष्ट उपशाखा पुरस्कृत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ९ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले एक पत्रकार,एक सामाजिक कार्यकर्ता र रेडक्रस ताप्लेजुङको उत्कृष्ट उपशाखालाई मंगलवार नगद सहित पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले गौतमको १५ औं स्मृतिसभामार्फत १० हजार १ सय ५ रुपैयाँ राशीको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङलाई प्रदान गरिएको छ । गुरुङलाई उक्त पुरस्कारका लागि पत्रकार महासंघ ताप्लेजुङले टीकाराम गौतम स्मृति प्रतिष्ठान समक्ष सिफारिस गरेको थियो । गुरुङ लामो समय देखि पत्रकारिता र अधिकार रक्षाको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँ जिल्ला बाल इजलासमा समेत सहजकर्ताको रुपमा काम गर्नुहुन्छ । यो इजलासमार्फत बाल बिज्याँईका मुद्दाहरु हेर्ने गरिन्छ । करिव एकदशक अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)को जिल्ला प्रतिनिधि समेत भएर काम गरेका गुरुङ अहिले भने त्यो जिम्मेवारीबाट अलग हुनुहुन्छ। गुरुङ नेत्रज्योति संघ ताप्लेजुङका कार्य समिति सदस्य तथा निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन(प्याब्सन) ताप्लेजुङका उपाध्यक्ष समेत हुनुहुन्छ ।
उत्कृष्ट समाजसेवीलाई प्रदान गरिने नगद १० हजार १ सय ५ रुपैयाँ राशीको टीकाराम गौतम स्मृति उत्कृष्ट समाजसेवी पुरस्कार फुङलिङ नगरपालिका वडा नं ५ निवासी दिनेश खवासलाई प्रदान गरिएको छ । ब्लड बैंक नभएको ताप्लेजुङमा रक्त समूह अनुसारका व्यक्ति खोजी–खोजी रक्त सञ्चार अभाव टार्ने गरिएको छ । खवासले दिनरात नभनी रगतको आवश्यकता परेका व्यक्तिहरुलाई रक्त समूह अनुसारका रक्तदाता खोजी गरी त्यसको नियमित व्यवस्थापन गर्दै आइरहनु भएको छ । रगतको अभावमा ज्यानै जोखिममा रहेका व्यक्तिहरुलाई रक्तदाताको व्यवस्थापन गरी अभाव टार्न दिएको योगदानको कदर गर्दै प्रतिष्ठानले खवासलाई पुरस्कृत गरेको हो । फुङलिङ नगर कार्यपालिका सदस्य समेत रहेका खवास होटल व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत हुनुहुन्छ । उहाँ प्रत्येक शनिवार स्फुर्त रुपमा फुङलिङमा दौडने अभियान‘ताप्लेजुङ रन’का समेत अध्यक्ष हुनुहुन्छ ।
रेडक्रसका एक तर्दथ सहित २४ उपशाखामध्ये यसबर्षको उत्कृष्ट उपशाखाको रुपमा फुङलिङ उपशाखालाई पुरस्कृत गरिएको छ । फुङलिङ उपशाखालाई नगद १५ हजार १ सय ५ रुपैयाँ सहित पुरस्कृत गरिएको हो । फुङलिङ नगरप्रमुख अमिर मादेनले पुरस्कृत व्यत्तित्वहरुलाई नगद नतथा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन,कोशी प्रदेशसभाका पूर्व सदस्य होमकुमारी साँवा,फुङलिङ नगरपालिकाका पूर्व नगरप्रमुख छत्रपति प्याकुरेल सहितको उपस्थिति रहेको थियो । टीकाराम गौतम स्मृति प्रतिष्ठानले २०६९ सालबाट हरेकबर्ष एक उत्कृष्ट पत्रकार,एक उत्कृष्ट समाजसेवी र रेडक्रस ताप्लेजुङका उपशाखामध्ये उत्कृष्ट एक उपशाखालाई सम्मान गर्दै आइरहेको छ ।
नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकाराम गौतमको २०६६ साल कात्तिक ११ गते ह्रृदयघातका कारण निधन भएको थियो । २०१३ साल बैशाख ९ गते जन्मिनु भएका गौतमको जन्म जयन्तीको अवसर पारेर टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक बर्षको बैशाख ९ गते गौतमको स्मृतिसभा तथा पुरस्कार बितरण कार्यक्रम गर्दै आइरहेको छ । स्वर्गीय गौतम २०३८ सालमा नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको उप–कोषाध्यक्ष पदको जिम्मेवारी सहित रेडक्रस सोसाईटीमा संस्थागत रुपले आबद्ध हुनु भएको थियो । बिक्रम् सम्वत २०४२ साल देखि २०५४ सम्म नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङको मन्त्री(सचिव) भएका उनी २०५४ साल देखि मृत्यु पर्यन्त जिल्ला सभापति हुनुहुन्थ्यो ।