इखाबुस्थित सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर स्थापना,बर्थिङ सेन्टर स्थापनामा एक्सन फर नेपाल जोडियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ७ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित सङ्साबुमा बर्थिङ सेन्टर स्थापना भएको छ । इखाबुस्थित सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर स्थापना भएको हो ।
फक्ताङलुङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश भट्टराईका अनुसार यो संगै अब फक्ताङलुङ गाउँपालिकामा ७ वटा बर्थिङ सेन्टर भएका छन् । बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै गर्भवति महिलाहरूले गर्भ जाँच गर्न र सुत्केरी हुनका लागि इखाबु तथा तापेथोक जानुपर्ने बाध्यता हट्ने भट्टराईले बताउनुभयो । बर्थिङ सेन्टरको फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका वडाध्यक्ष महेश लावुङ लिम्बू र स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख कुलबहादुर पौडेललले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
फक्ताङलुङ गाउँपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय ताप्लेजुङसंगको समन्वयमा एक्सन फर नेपालले बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने सामग्री तथा त्यहाँ कार्यरत कर्मचारीलाई तालिम समेत प्रदान गरेको छ । एक्सन फर नेपालका ताप्लेजुङ संयोजक सुवास कोईरालाले दुर्गम गाउँमा बर्थिङ सेन्टरको आवश्यकता देखेपछि आफुहरु यसका लागि सहयोग गर्न अग्रसर भएको बताउनुभयो । उहाँले बर्थिङ सेन्टरको टाढासम्म पुग्नुपर्दा मातृ तथा शिशु मृत्युको जोखिम महशुष गरेर बर्थिङ सेन्टर स्थापनाका लागि सहयोग गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख पौडेलका अनुसार ताप्लेजुङ जिल्लामा सामुदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सञ्चालन गर्ने यो पहिलो स्वास्थ्य इकाइ हो । यो संगै फक्ताङलुङ गाउँपालिकामा एक आधारभूत अस्पताल,७ वटा स्वास्थ्य चौकी,१६ वटा सामुदायिक स्वास्थ्य इकाइ र ७ वटा बर्थिङ सेन्टरमार्फत स्वास्थ्य सेवा प्रवाह हुन थालेको छ ।