|

नेपालका हिमाल गौरवका निधि र स्वाभीमानका प्रतिक: पर्यटनमन्त्री पाण्डे

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नेपालका हिमाल गौरवका निधि र स्वाभीमानका प्रतिक भएकोले यिनको संरक्षण र प्रवद्र्धनमा सरकारले उचित ध्यान दिने बताउनु भएको छ । उहाँले नेपालका हिमाल प्राकृतिक रुपले नमोरम मात्र नभई आध्यात्मिक र धार्मिक हिसावले पनि महत्वपूर्ण रहेका बताउनुभयो ।

कञ्चनजंघा आरोहणको ७० बर्ष पुगेको अवसरमा बैशाख ५ बाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा सुरु कञ्चनजंघा हीरक महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो । मन्त्री पाण्डेले हिमालको गौरवले चौडा भएको छाति र उचाई पाएको स्वामीमानलाई जीवन्त राख्न हिमालको संरक्षण अनिवार्य रहेकोमा जोड दिनुभयो । नेपालका हिमालसंग नेपालीहरुको संस्कार,संस्कृति र जैविक तथा पर्यावरणीय विविधताको समेत सम्वन्ध हुने भएकोले हिमालको संरक्षण र प्रवद्र्धनमार्फत मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सकिने मन्त्री पाण्डेको भनाई थियो ।

पाण्डेले धार्मिक तथा साँस्कृतिक एकता,सद्भाव र सहिष्णुतालाई सुन्दर र शान्त बनाएर नेपालीहरुको पहिचान जीवन्त राख्ने हो भने नेपालमा हिमालसंगै संस्कृति र प्रकृतिले अन्तराष्ट्रिय क्षेत्रमा ख्याति पाइरहने समेत पाण्डेले बताउनुभयो । प्रकृति र संस्कृतिलाई जोगाएर दिगो विकासमार्फत मुलुकलाई समृद्धिको अभियानमा जोड्न सकिने उहाँको भनाई थियो । संस्कृति र प्रकृतिको संरक्षण गर्दै गरिने दिगो विकासले मुलुकलाई अग्रगामी प्रकृतिको बनाउने बताउँदै मन्त्री पाण्डेले तीन तहका सरकारबिच समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताउनुभयो । विकास,समृद्धि र संरक्षणको अभियानमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री पाण्डेले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा समेत सरकारको गहिरो ध्यान गइरहेको बताउनुभयो ।

करिव ५ सय बर्ष पुरानो ओलाङलुङगोलास्थित दिकीछ्योलिङ गुम्बाको नामै लिएर मन्त्री पाण्डेले दिकीछ्योलिङ सहित नेपालका पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणले पर्यटन प्रवद्र्धनमा समेत सरकारले ध्यान दिने बताउनुभयो । भूगोलका हिसावले ठूलो तर जनसंख्याका हिसावले कम भएका भौगोलिक कठिनाई रहेका क्षेत्रहरुको विकासका लागि अब सरकारले नयाँ ढंगले सोच अघि सारिरहेको उहाँको भनाई थियो । मन्त्री पाण्डेले भौगोलिक कठिनाई भएका क्षेत्रहरुको विकासका लागि नयाँ रणनीति आवश्यक भएको बिषयमा सरकार जानकारनै रहेको बताउनुभयो । फक्ताङलुङ गाउँपालिका भूगोलमा हिसावले नेपालको तेस्रो ठूलो पालिका हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले कञ्चनजंघा क्षेत्रको विकास अपेक्षाकृत रुपले हुन नसकेपनि विगतमा भएका कार्यहरुलाई स्वामित्वको रुपमा ग्रहण गर्दै अब यो क्षेत्रको विकासमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । पूर्व पर्यटन मन्त्री समेत रहनु भएका भट्टराईले पर्यटन प्रवद्र्धनका लागि पदमार्ग व्यवस्थापन देखि होमस्टे र सुविधायुक्त होटलसम्मका पूर्वाधार आवश्यक रहेको बताउनुभयो । उहाँले तमोर करिडोरको फुङलिङ–टिपताला सडक खण्डको स्तरोन्नती,तालतलैयाको संरक्षण,धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण र प्रवद्र्धनका कार्यमा आफ्नोतर्फबाट सरकारको ध्यानाकर्षण गराउने काम भइरहेको बताउनुभयो । लेलेप–ओलाङचुङगोला सडक क्षेत्रको सुकेपानीमा बेलिबिज्र निर्माण देखि ताप्लेजुङका पर्यटकिय स्थलहरुको प्रचार,त्यहाँ आवश्यक पूर्वाधार निर्माण र अन्य विकासमा एजेण्डाहरुमा सहकार्य र समन्वय गरेर अघि बढ्न आफु तयार रहेको प्रतिबद्धता समेत भट्टराईले व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्रीद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,बिभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु,विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)नेपालका राष्ट्रिय व्यवस्थापक डाक्टर घनश्याम गुरुङ,समृद्ध पहाड परियोजनाका राष्ट्रिय निर्देशक सञ्जिव न्यौपाने समेतले महोत्सवको सफलताको शुभकामना दिनु भएको थियो । शुक्रवार बिहान मात्र फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको थियो । हिमालयन् ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली सहितको उपस्थितिमा पार्क सेन्टरको शिलान्यास गरिएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण संकलन गर्ने कक्ष समेत स्थापना हुनेछन् । निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुने लिम्बूले जानकारी दिनुभयो । पार्क करिव ५ करोड रुपैयाँको लागतमा निर्माण हुने व्यवस्थापन परिषद्ले जनाएको छ । महोत्सवमा साँस्कृतिक कार्यक्रम समेत हुने छ । उक्त कार्यक्रमका लागि चर्चित हाँस्य कलाकार मनोज गजुरेल,मिलन नेवार,डेविड शंकर सहितका कलाकार ताप्लेजुङ आई सक्नु भएको छ ।

 

Similar Posts