|

सडक मर्मत गर्न माओवादीको श्रमदान अधियान

-उज्यालो पोष्ट
ताप्लेजुङ, वैशाख ५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा श्रमदानमार्फत सडक मर्मत गरिएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र सिरिजंघा गाउँपालिका–१ सिनामको पञ्चमी जोड्ने सडक श्रमदानमार्फत मर्मत गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिका कमिटीको अगुवाइमा बिहीबार श्रमदानमार्फत साब्लाखु–सिनाम पञ्चमी खण्डको मिश्रटार क्षेत्रमा सडक मर्मत गरिएको हो । ठाउँ–ठाउँमा भत्किएर जोखिमयुक्त रहेको सडकको मर्मत गरिएको माओवादी केन्द्र पालिका कमिटीका सचिव किरण लिङ्देनले जानकारी दिनुभयो ।
लिङ्देनका अनुसार मिश्रटार पुछार काबेली खोला किनार क्षेत्रमा सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको हो । यातायात सञ्चालन गर्न सहज हुनेगरी माओवादी केन्द्र पालिका कमिटीका पदाधिकारी तथा कार्यकर्ता र अन्य स्थानीयको सहभागितामा सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।
यातायातका साधन सञ्चालनमा कठिनाइ हुनेगरी बिग्रिएको अर्थात भत्किएको र खाल्डाखुल्डी भएको ठाउँमा ढुंगा सोलिङ गरेर सडक मर्मत गरिएको छ । आफ्नो क्षेत्रमा रहेका सडक लगायतका सार्वजनिक संरचनाको मर्मत तथा निर्माण आफैं गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले समेत सडक मर्मतमा श्रमदान गरिएको माओवादीका पालिका कमिटी अध्यक्ष अमर इधिङगोले बताउनुभयो ।
सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्षसमेत रहनुभएका इधिङगोले श्रम संस्कृतिको आवश्यक रहेको बताउँदै सुरु भएको श्रमदान अभियानलाई निरन्तरता दिने पनि बताउनुभयो । उहाँले माओवादीले सुरु गरेको अभियानलाई सहयोग गर्न र आफ्नो क्षेत्र तथा टोलमा सानातिना काम आफैं गरेर देशको समृद्धि साथै विकासमा योगदान पु¥याउन सबैलाई आग्रहसमेत गर्नुभएको छ ।

Similar Posts