एमाले ताप्लेजुङद्धारा १६ जनालाई जिल्ला कमिटीमा मनोनित,आफुखुसी कार्यक्रम गर्न प्रतिवन्ध गर्ने निर्णय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । नेकपा एमाले ताप्लेजुङको चौथो पूर्ण बैठकले समायोजनबाट आएका एक सहित १६ जनालाई जिल्ला कमिटीमा मनोनित गर्ने निर्णय गरेको छ ।

कार्यवाहक अध्यक्ष समेत रहनु भएका जिल्ला कमिटीका उपाध्यक्ष एवम् आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार मनोनित हुनेहरुमा दिवस लिवाङ,केदारजङ्ग चोङवाङ,रुपेन्द्र वनेम,सूर्यमान यक्सो,सूर्यप्रकाश आङवुहाङ,लालुमाया सार्की,राजेश प्याकुरेल,कमल लिम्बू,याम अन्छङ्वो,बिक्रम मेन्याङ्वो,चन्द्र यवागु,जीवनकुमार हेल्लोक,जर्नादन खतिवडा,डिल्ली मादेन,लालकाजी वनेम र सन्त बराईली रहनु भएको छ । बराईली नेकपा एस परित्याग गरी एमालेमा समाहित हुनु भएको थियो ।

एमाले जिल्ला कमिटीको बैठकले पार्टी केन्द्र र प्रदेशका नेताहरु आफुखुसी कार्यक्रम बनाएर हिड्ने गरेकोमा त्यसो नगर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । मातहतका कमिटी र जिल्ला कमिटीलाई जानकारी नगराई आफुखुसी कार्यक्रम बनाएर नहिड्न समेत सम्वन्धितलाई निर्देशन दिने निर्णय एमाले ताप्लेजुङले गरेको छ । बैठकले जिल्ला कमिटी सदस्यहरुलाई जनही १ सय,जिल्ला सचिवालय सदस्यहरुलाई २ सय र पदाधिकारीलाई ५ सय रुपैयाँ लेवी तोक्ने निर्णय समेत गरेको छ ।

बैठकले तीनपटक सम्म जिल्ला कमिटी बैठकमा उपस्थित नभएका सदस्यहरुलाई आफ्नो कामप्रति जिम्मेवार भएर नलागेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । २०८२ सालको पाटी सदस्यता नविकरण बैशाख महिना भरीमा अनिवार्य गरिसक्ने समेत बैठकले निर्णय गरेको छ । बैठकले बैशाख ९ गते पार्टी स्थापना दिवसका दिन पार्टीको जिल्ला कमिटीमा विगतमा आवद्ध भएका ७५ बर्ष नाघेका अग्रज जेष्ठ नेताहरुलाई दोसल्ला र सम्मानपत्र सहित अभिनन्दन गर्ने भएको छ भने २०८२ साल बैशाख ११ गते हुने युवा महोत्सवमा ताप्लेजुङ जिल्लाका प्रत्येक वडाबाट कम्तिमा २ जनाको प्रतिनिधित्व हुने गरी प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

Similar Posts