माथिल्लो तमोर आयोजनास्थलमा कालो झण्डा गाडियो

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ४ । ताप्लेजुङमा निर्माण गर्न सुरु गरिएको माथिल्लो तमोर जलविधुत आयोजना स्थलमा स्थानीयले विरोध जनाउँदै कालो झण्डा गाडेका छन् । स्थानीय रैथाने आदिवासी समुदायलाई जानकारी नदिई मनोमानी रुपमा आयोजना निर्माण गर्न लागिएकोभन्दै स्थानीयवासीले विरोध गर्दै आयोजना स्थलमा कालो झण्डा गाडेका हुन् ।
स्थानीयवासीले आयोजना प्रभावित संघर्ष समिति नै बनाएर आयोजनाको विरोध गर्दै आइरहेको छ । उक्त संघर्ष समितिको अगुवाइमा बुधबार आयोजनास्थल फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिस्नेमा स्थानीयले प्रदर्शन गर्दै कालो झण्डा गाडेका हुन् । आयोजनाले सुरुङ निर्माण गर्न थालेपछि सिस्नेमा कालो झण्डा गाडिएको संघर्ष समितिका संयोजक बीरबल लिङ्खिमले जानकारी दिनुभयो ।
संयोजक लिङ्खिमका अनुसार आयोजनाको काम रोक्न माग गर्दै कालो झण्डा गाडिएको हो । निर्माणको काम रोक्नुपर्ने मागसहित पहिलो चरणको विरोधस्वरुप सुरुङ निर्माणस्थलमा कालो झण्डा गाडिएको पनि लिङ्खिमको भनाइ छ । प्रभावित क्षेत्रका स्थानीयवासीको बिरोधलाई सामान्य ठानिए थप कडा संघर्षको कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ ।
स्थानीय रैथाने आदिवासी समुदायको अस्तित्व, संस्कार, संस्कृति, ऐतिहासिक तथा पुरातात्विक सभ्यता र पहिचानमाथि अतिक्रमण गरिएको साथै पर्यावरणमा गम्भीर असर पर्नेभन्दै स्थानीयवासीले आयोजनाको विरोध गर्दै आएका छन् । संघर्ष समितिमार्फत स्थानीयले आयोजनाको काम रोक्न माग गर्दै गएको आइतबार जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
स्थानीयवासीको बिरोध र असहमति हुँदाहुँदै राजनीतिक पहुँच र बल मिच्याइँ ढंगले आयोजना निर्माणको काम अगाडि बढाएको आरोप पनि स्थानीयले लगाएका छन् । बलजफ्ती आयोजना निर्माण गर्ने दुस्प्रयास नगर्न र कुनै पनि हालतमा काम रोक्नुपर्ने स्थानीयको एक सुत्रीय माग रहेको संघर्ष समितिका संयोजक लिङ्खिमले बताउनुभयो । तमोर इनर्जी प्रालिले तमोर नदीबाट २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविधुत आयोजना निर्माण गर्न लागेको हो ।