| |

‘ओलाङ्चुङगोला’ गीतको भिडियो सार्वजनिक

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २ । गीतकार टंक भट्टराईको ‘ओलाङ्चुङगोला‘ गीतको भिडियो सार्वजनिक भएको छ । ताप्लेजुङको एक पर्यटकीय गन्तव्य ओलाङ्चुङगोला क्षेत्रको परिवेश र चिनारीलाई समेटेर तयार पारिएको गीतको भिडियो (श्रव्यदृश्य) सार्वजनिक भएको हो ।
गीतकार भट्टराईले ओलाङ्चुङगोला, घुमौ न एकफेर भोलि के होला बोलको गीतमा गोला क्षेत्रमा रहेका पर्यटकीयस्थल दिकी छ्योलिङ गुम्बा, सिँजेमा ताल, मौवाटार, टिपताला, याङ्माहरु शब्दमा समेट्नुभएको छ । गीत संगीतको माध्यममार्फत यहाँको पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सहयोग गर्नेगरी तयार पारिएको गीतमा दीपक शर्माको संगीत रहेको छ ।
कलाकार निरोज लामा, बेनिशा पौडेल र इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ओलाङ्चुङगोलाको भिडियोमा पेम्बा ओङ्दी शेर्पा र मारियम सिवाको अभियन रहेको छ भने निर्देशकको भूमिकामा हर्कराज गुरुङ हुनुहुन्छ । पाथीभरा क्रिएसन हाउस प्रालिले उत्पादन गरेको गीतको भिडियोमा ओलाङ्चुङगोला क्षेत्रका पर्यटकीयस्थल तथा सुन्दर दृश्यहरु छायांकन गरिएका छन् । पर्यटकीय क्षेत्रको उजागरसँगै एक युवक र युवतीबिचको माया प्रेम भिडियोको कथामा देखाइएको छ ।
भिडियो अर्थात गीतको श्रव्यदृश्य कथा भवसागर इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो । ताप्लेजुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रहनुभएका गीतकार भट्टराईले ताप्लेजुङमा रहँदा ओलाङ्चुङगोलासहित ताप्लेजुङको शिरैमा सेतो जुहार र दिलमायाको चिया दोकान बोलको तीन वटा गीत लेख्नुभएको छ । ताप्लेजुङको सेरोफेरोलाई गीति शब्द बनाइएका यसअघिका दुईवटा गीतको समेत भिडियो निर्माण गरी सार्वजनिक गरिएका छन् ।

Similar Posts