ओलाङचुङगोला’गीति श्रव्यदृश्यको लोर्कापण बैशाख ६ गते

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३१ । पर्यटकिय स्थल ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रको रहनसहन र जीवनशैलीमा आधारित‘घुम्न जाऔं ओलाङचुङगोला’गीति श्रव्यदृश्यको आउँदो बैशाख ६ गते लोर्कापण हुने भएको छ ।
बैशाख ५ देखि ७ गते सम्म फक्ताङलुङ गाउँपालिकाको लेलेपमा हुने कञ्चनजंघा हीरक महोत्सवकै अवसरमा बैशाख ६ गते ‘घुम्न जाऔं ओलाङचुङगोला’गीति श्रव्यदृश्य लोर्कापण हुने यसका संयोजनकर्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गीति श्रव्यदृश्यमा फक्ताङलुङ गाउँपालिकाको प्रस्तुती रहेको छ ।
निजामति सेवामा आवद्ध ताप्लेजुङका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईको शब्द रहेको गीतमा दीपक शर्माको संगित रहेको छ भने श्रेष्ठ आफैंको पनि स्वर रहेको छ । गीतमा श्रेष्ठसंगै निरोज लामा र बेनिसा पौडेलले स्वर दिनु भएको छ । नरेन्द्र बियोगीले एरेञ्जको भूमिका निर्वाह गर्नु भएको छ ।
पाथीभरा क्रिएसन हाउस प्रालिले उत्पादन गरेको यो गीति श्रव्यदृश्यको भूपेन्द्र योङहाङ,फुङ्सो जवेगु र सोमित गुरुङले छायाँङ्कन गर्नु भएको छ । गुरुङ कोरियोग्राफर समेत हुनुहुन्छ भने सुवास सुनुवारले सम्पादन गर्नु भएको छ ।