आठराई त्रिबेणी नगर प्रहरी कार्यविधि : जुवातास नियन्त्रण देखि विपद्का बेला राहत तथा उद्धारमा खटिनुपर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३१ । पालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा जुवा–तास लगायतका विकृतिजन्य क्रियाकलापमा रोक लगाउने सहितका ३५ बढी जिम्मेवारी दिदैं ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नगर प्रहरी सञ्चालन कार्यविधि ल्याएको छ ।

पालिका क्षेत्रमा आवश्यक शान्ति सुव्यवस्था कायम गरी पालिका क्षेत्रको सार्वजनिक सम्पत्तिको सुरक्षा एवम् संरक्षण गर्न,पालिकाका निर्णयहरुको कार्यान्वयनमा अग्रसर गराउन,आपतकालिन अवस्थामा राहत तथा उद्धारको कार्य गर्न,अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम नियन्त्रण गर्न र छाडा पशु चौपायाको नियन्त्रण गर्न पालिकाले नगर प्रहरी खटाउने गरी कार्यविधि ल्याएको हो । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा(२)को खण्ड(क) (१) मा भएको व्यवस्था कार्यान्वयनमा लागि नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि प्रयोगमा ल्याईएको हो ।

कार्यविधि अनुसार गाउँ प्रहरी सहायक निरीक्षक(असई)को नेतृत्वमा प्रहरी हवल्दार र गाउँ प्रहरी जवान हुनेछन् । गाउँ प्रहरी कर्मचारीहरु हमेसा आफ्नो ड्युटीमा रहेको मानिने छ । गाउँ प्रहरी कर्मचारीले सार्वजनिक आवागनममा अवरोध पु¥याई निर्माण सामग्रीहरु हटाउन लगाउने,नमानेमा आफैं हटाई हटाउँदा लाग्ने खर्च सम्वन्धित व्यक्तिबाट असुल उपर गर्न पेश गर्ने,गाउँ क्षेत्रमा भित्ते लेखन,पोष्टर,ब्यानर,क्रस ब्यानर र विज्ञापन नीतिले निशेध गरेका विज्ञापन प्रचार सामग्री तथा पोष्टर टाँस्ने कार्यमा पूर्ण प्रतिवन्ध लगाउने र अटेर गर्नेलाई कारवाही गर्ने जिम्मेवारी समेत पाउने छन् ।

विना इजाजत ब्यानर,होर्डिङ बोर्ड,ग्लोबोर्ड लगायतका अन्य विज्ञापन समाग्री राखेको पाईएमा पक्राउ गरी इजाजत लिन लगाउने र नमानेमा कारवाही गर्ने,नापतौल सामग्रीको चेकजाँच गर्ने,पसल व्यवसायमा मूल्य सूची राख्न लगाई नियमित अनुगमन गर्ने,अनुमति बिना जादु,सर्कस र आर्थिक संकलन गर्ने प्रकृतिका बिभिन्न खेलहरु सञ्चालन गर्न नदिने,पालिका क्षेत्रमा सञ्चालनमा रहेका अस्थायी प्रकृतिका बजारहरुको रेखदेख गर्ने र व्यवसायीको लगत राख्ने तथा अरुलाई बाधा पुग्नेगरी लाउड स्पिकर,रेडियो तथा तीव्र ध्वनी उत्पादन गर्ने प्रकृतिका कार्य हुन नदिने काम समेत गाउँ प्रहरीले गर्ने भएका छन् ।

ध्वनी,धुँवा,प्रकाश तथा अन्य कुनै कारणले सार्वजनिक रुपमा बाधा पुग्नेगरी उद्योगधन्दा र व्यपार व्यवसाय भइरहेको भए त्यसलाई नियन्त्रण गर्ने,पार्किङ क्षेत्रको रेखदेख र व्यवस्थापन गर्ने,विपद् र महामारीका घटना भए उद्धार तथा राहतका लागि खटिने,न्यायिक समितिले आदेश गरे बमोजिम सम्वन्धित पक्षकोमा म्याद तामेली गर्ने,न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन गर्ने,गाउँपालिकाको सुरक्षा तथा पालोपहरा गर्ने,स्वास्थ्यका लागि हानिकारक बस्तु तथा सढेगलेका खाद्य पर्दाथको बिक्री बितरणमा रोक लगाउने,सडक आवागमन वा खतरा देखिएका रुखहरु काट्न लगाउने सहितका कार्य गाउँ प्रहरी कर्मचारीले गर्ने भएका छन् ।

Similar Posts