प्रदेश पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्व दिएकोमा पूर्व मन्त्री भट्टराईद्धारा कोशी सरकारको ध्यानाकर्षण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २९ । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्व दिएको भन्दै कोशी सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
शुक्रबार प्रेस चौतारी नेपाल ताप्लेजुङले फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत प्रतिनिधिसभा सदस्य समेत रहनु भएका भट्टराईले पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्व दिएको दिएको भन्दै कोशी प्रदेश सरकारसंग गुनासो समेत गर्नु भएको छ । ‘प्रदेशको सबैभन्दा धेरै पर्यटकीय गन्तव्य ताप्लेजुङ रहेका छन्,यही ताप्लेजुङलाई कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यहरू तोक्दा कम महत्व दिएकोमा दुःख लागेको छ’भट्टराईले भन्नुभयो । विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा,कुम्भकर्ण हिमाल,प्रसिद्ध तीर्थस्थल पाथीभरा, सिङजेमा ताल,तिम्बुङ पोखरी,सोदु पोखरी, करिव ५ सय बर्ष पुरानो दिकीछ्योलिङ गुम्बा र पर्यटकीय महत्वको स्थान ओलाङचुङगोला,तोक्पेगोला जस्ता कयौँ पर्यटकीय गन्तव्य रहेकोले ताप्लेजुङ नै पर्यटकीय गन्तव्यको पहिलो क्षेत्र रहेको उहाँको दावी थियो । यस्ता असंख्य पर्यटकीय गन्तव्य रहेको ताप्लेजुङ र यहाँ रहेका पर्यटकीय गन्तब्यप्रति कोशी प्रदेश सरकारको कम ध्यान गएको भट्टराईको आरोप थियो ।
तमोर नदी अत्यन्तै आकर्षक ¥याफ्टिङ क्षेत्र रहेको र पदमार्गको हिसावले नेपालकै एउटा आकर्षक मार्गको रुपमा कञ्चनजङ्घा पद मार्ग समेत रहेको बिषयबाट प्रदेश सरकार जानकारविहिन हुनु दुःखद् रहेको रहेको उहाँको भनाई छ । यो सँगै ग्रेट हिमालयन ट्रेलको सुरुवात पनि ताप्लेजुङबाट नै हुने अवगत गराउँदै यस्ता पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि कोशी प्रदेश सरकारले ताप्लेजुङलाई कम महत्व दिएको भन्दै यो बिषयमा पुर्नबिचार गर्न भट्टराईले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यस अघि पनि ताप्लेजुङका तीन स्थानीय तह मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले संयुक्त रुपमा कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरू छनोट गर्दा जैविक विविधता र प्रकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा भन्दै कोशी सरकारको ध्यानाकर्षण गराएका थिए ।