पाँचथरको यासोकमा जेठ पहिलो साता शल्यकृया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविर हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २७ । पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा आउँदो जेठ पहिलो साता दुईदिने शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको संयोजन,कुम्मायक गाउँपालिकाको आर्थिक साझेदारी र मेची आँखा अस्पताल बिर्तामोडका चिकित्सक तथा प्राविधिकहरुको उपस्थितिमा आँखा शिविर सञ्चालन हुने निर्णय भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । निःशुल्क आँखा स्वास्थ्य शिविरमा सेवा फाउण्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघले चिकित्सक तथा प्राविधिकहरुको व्यवस्थापन गर्ने भएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार नेत्रज्योति संघ ताप्लेजुङले शिविरमा ४० बर्ष माथि उमेर समूहका नागरिकलाई अनिवार्य रुपमा लगाउनुपर्ने रिडेवल चश्मा समेत निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । कुम्मायक गाउँपालिकाले पालिकाका सेवाग्राहीलाई निःशुल्क रुपमा औषधि उपलब्ध गराउने भएको छ । पालिकाले औषधिका अलवा चिकित्सक तथा प्राविधिकहरुलाई आवास तथा खानाको प्रवन्ध गर्ने भएको छ । पालिका अध्यक्ष बमप्रसाद लावती,उपाध्यक्ष महेन्द्रबहादुर खड्का,प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल,पालिकाका ५ वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य र नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङको नेतृत्वमा यासोक पुगेको नेत्रज्योति संघ ताप्लेजुङको टोलीबिच आँखा शिविर तथा कुम्मायक आँखा उपचार केन्द्र व्यवस्थापनका बिषयमा छलफल भएको थियो ।
शिविर अघि कुम्मायक आँखा उपचार केन्द्र तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका प्राविधिकहरुले कुम्मायक गाउँपालिकाका दुईवटा वडामा पुगेर नागरिकहरुको आँखा परीक्षण गर्ने छ । परीक्षणका क्रममा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई यासोकमा हुने शिविरमा ल्याएर बिरामीको आँखाको शल्यकृया गरिने भएको छ । कुम्मायक गाउँपालिकाले पालिका क्षेत्रका सेवाग्राहीलाई सहुलियत प्रदान गर्न नाम दर्ता शुल्क समेत नलिने भएको छ भने औषधिको शुल्क समेत तिरिदिने भएको छ । नेत्रज्योति संघ ताप्लेजुङले तीनसय बढीलाई रिडेबल चश्मा निःशुल्क दिने सहमति समेत भएको नेत्रज्योति संघले जनाएको छ ।
नेपाल नेत्रज्योति संघ ताप्लेजुङको अगुवाई तथा सम्वन्धित स्थानीय तहको आर्थिक साझेदारीमा पाँचथरमा यासोक र थर्पु बजार गरी दुईवटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । यासोकमा रहेको आँखा उपचार केन्द्रमा कुम्मायक गाउँपालिका र थर्पुमा रहेको आँखा उपचार केन्द्रमा याङवरक गाउँपालिकाको आर्थिक साझेदारी छ । ताप्लेजुङको फुङलिङमा नेत्रज्योति संघ आफैंले व्यवस्थापन गरेर डिचेन डोङ्गला आँखा उपचार केन्द्र सञ्चालनमा छ भने दोभानमा मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा दोभान आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ ।