नयाँबर्षसंगै महोत्सवमय बन्दै ताप्लेजुङ,कञ्चनजंघा हीरक महोत्सवको प्रचार तीव्र,सिरिजङ्गा महोत्सवको तयारीमा गति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २७ । २०८२ सालको सुरुआत संगै महोत्सवमय बन्ने ताप्लेजुङमा महोत्सवका तयारी तीव्र रुपमा अघि बढाईएको छ । बैशाख ५ देखि ७ गते सम्म फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा कञ्चनजंघा हीरक महोत्सव तथा बैशाख १३ देखि १५ सम्म सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनस्थित नयाँ झोरेनीमा सिरिजङ्गा महोत्सव मनाईदैं छ ।

कञ्चनजंघा हीरक महोत्सवको प्रचारप्रसारलाई व्यापक बनाउन बुधवार फुङलिङमा महोत्सव प्रचार सामग्री टाँस्ने तथा बितरण गर्ने कार्य भएको छ । मुख्य आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन समितिका कोषाध्यक्ष छोवाङ शेर्पाको अगुवाईमा परिषद्,संरक्षण क्षेत्र कार्यालय,समृद्ध पहाड परियोजना,ताप्लेजुङ उद्योग वाणिज्य संघ र पत्रकार महासंघ ताप्लेजुङ शाखा समेतको सक्रियतामा कञ्चनजंघा हीरक महोत्सवको प्रचारप्रसार गरिएको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचारप्रसार कार्य नियमित गरिने छ ।

कञ्चनजंघा हीरक महोत्सवमा सहभागिता जनाउन हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्लीको नेतृत्वमा ८ सदस्यीय टोली लेलेप आइसकेको छ । रिग्ली ब्लुबरी हिल च्यारिटिवल अर्गनाईजेसनका समेत अध्यक्ष हुनुहुन्छ । ब्लुबरी हिल च्यारिटिवल अर्गनाईजेसनले समृद्ध पहाड परियोजनाका लागि आर्थिक सहयोग गरेको छ । रिग्ली नेतृत्वको टोली अहिले कञ्चनजंघा आधार शिविरसम्मको भ्रमणमा गएको छ । उहाँहरुको टोली बैशाख ४ गते लेलेप आइपुग्ने कार्यक्रम रहेको हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा विगत १६ बर्षदेखि यहाँ सञ्चालन भइरहेको रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । रिड नेपाल शिक्षा क्षेत्रमा काम गर्ने संस्था हो ।

कञ्चजंघामा मानव पाइला पुगेको ७० बर्ष पुगेको अवसरमा हीरक महोत्सव मनाउन लागिएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले जानकारी दिनुभयो । हिमालयन् ट्रष्ट युके कञ्चनजंघाका पहिलो आरोही जर्ज व्याण्ड र जर्ज लोले सुरुआत गरेको संस्था हो । हिमालयन् ट्रष्ट सुरुमा सगरमाथाका पहिलो आरोही सर एलमण्ड हिलारीको अग्रसरता थियो । न्युजिल्याण्डका हिलारी र युकेका ब्याण्डले पछि छुट्टाछुटै अर्गनाइजेसन बनाएर हिमालयन् ट्रष्ट युके र हिमालयन् ट्रष्ट न्युजिल्याण्ड बेग्लाबेग्लै अस्थित्वमा रहेका समेत यसका जानकार पन्तले बताउनुभयो ।

परिषद्का सदस्य सचिव मनकुमार राईका अनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरूको प्रचार–प्रसार,पदयात्राका लागि आह्वान,स्थानीय समुदायको संस्कार र संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम,स्थानीय उत्पादनको प्रवद्र्धन र संस्कार र संस्कृतिमा आधारित स्थानीय समुदायका खाद्य परिकारको प्रवद्र्धन सहितका कार्यक्रम सञ्चालन गरी हीरक महोत्सव मनाइने छ । महोत्सवका बेला भलिबल प्रतियोगिता समेत सञ्चालन हुने छ । कञ्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव लिम्बूका अनुसार लेलेपमा सम्पन्न हुने तीनदिने हीरक महोत्सवका कार्यक्रम पछि संघीय राजधानी काठमाडौंमा राष्ट्रिय तहको कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

यता समुद्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा हाफ म्याराथन प्रतियोगिता सहितका कार्यक्रम गरेर सिरिजङ्गा महोत्सव आयोजना हुँदै छ । आयोजक सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा.चित्रकुमार मावो लिम्बूले महोत्सवको तयारीलाई तीव्र बनाईएको जानकारी दिनुभयो । महोत्सवको प्रचारप्रसारका कार्यलाई ब्यापक बनाईएको र अन्य तयारीका कामहरु समेत तीव्र गतिमा अघि बढाईएको मावोले जानकारी दिनुभयो । हाफ म्याराथन प्रतियोगिताका विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार दिइने छ । यस्तै दोस्रो हुनेलाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ८५ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । सोही उचाइलाई आधार मानेर अन्तिम पुरस्कार राशि पनि ८ हजार ५ सय ८६ को रुपमा मिलाइएको पालिकाले जनाएको छ । म्याराथनका लागि नयाँ झोरेनी–कस्तुरेडाँडा–झण्डेडाँडा–सिन्दुरे ढुङ्गा–तुप्लुङ–दुण्दुडाँडा–ढाँडचौक–भेडी चोक हुँदै मछेवा पुग्ने करिब २४ किलोमिटर दूरीमा तय गरिएको छ । म्याराथनसँगै माउन्टेन साइक्लिङ समेत सञ्चालन गर्ने पालिकाको तयारी छ । नयाँ झोरनी क्षेत्रमा साँस्कृतिक तथा साहित्यिक कार्यक्रम समेत हुने भएका छन् ।
फुङलिङमा कञ्चनजंघा हीरक महोत्सवको प्रचार सामग्री टाँस तथा बितरण गरिदैं ।

Similar Posts