तीन पालिकाको बैठक: रुपान्तरणकारी कार्यक्रममा ताप्लेजुङलाई नसमेटिएकोमा प्रदेश सरकारको ध्यानाकर्षण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २४ । ताप्लेजुङका तीन स्थानीय तहहरुले पालिकाको समृद्धि र विकाससंग जोडिएका जैविक विविधता,स्थानीय उत्पादन र ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको संरक्षणमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मेरिङदेन गाउँपालिकाको आतिथ्यतामा सोमवार मिक्वाखोला र मैवाखोला गाउँपालिका समेतको सहभागितामा भएको त्रिपक्षीय छलफल महत्वपूर्ण निश्कर्ष र सहमतिका साथ सकिएको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले जानकारी दिनुभयो । तीन पालिकाको भेलाले तीनबुँदे सामूहिक संकल्प प्रस्ताव तथा ध्यानाकर्षण समेत पारित गरेको छ । संकल्प प्रस्ताव तथा ध्यानाकर्षण पत्रमा मेरिङदेन गाउँपालिका अध्यक्ष हाङगाम,मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले हस्ताक्षर गर्नु भएको छ । तीन पालिकाको बैठकले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा तीनवटै पालिकाबिच सहकार्य गरी अघि बढ्ने तथा साझा सरोकारका बिषयमा साझा हितका लागि सहकार्यलाई थप मजवुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तीन पालिकाको संयुक्त बैठकले कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका बिभिन्न १९ वटा रुपान्तरणकारी कार्यक्रम छनौट गर्दा नसमेटिएकोमा कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । उक्त बैठकले ताप्लेजुङजिल्ला जैविक विविधता तथा प्राकृतिक स्रोतहरुको प्रचुर सम्भावना भएको र यहाँ सञ्चालन गरिने परियोजनामार्फत सिङ्गो प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुग्ने भएपनि रुपान्तरणकारी योजनामा प्रदेश सरकारले ताप्लेजुङलाई समेट्नु दुःखद् भएको निश्कर्ष समेत निकालेको छ ।

तीन पालिकाको संयुक्त बैठकले नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय समझौता अनुसार कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा मेरिङदेन,मैवाखोला र मिक्वाखोला गाउँपालिकालाई नसमेटिएको भन्दै कोशी प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण समेत गराएको छ । उक्त परियोजना अन्र्तगत ४ वटा पदमार्गमध्ये लालीगुराँस पदमार्ग(तुम्लिङटार–खाँदवारी–नुम–गुफापोखरी–बसन्तपुर–जलजले–तीनजुरे–मिल्के)सहित २९ वटा स्थानीय तहलाई भौगोलिक क्षेत्रमा जोड्ने गरी निर्माण हुन लागेको पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा १ सय ६० किलोमिटर लामो प्रस्तावित लालीगुराँस पदमार्गले(तुम्लिङटार–खाँदवारी–नुम–गुफापोखरी–बसन्तपुर–जलजले–तीनजुरे–मिल्के)चैनपुर नगरपालिका,चिचला गाउँपालिका,धर्मदेवी नगरपालिका,खाँदवारी नगरपालिका,मादी नगरपालिका,मकालु गाउँपालिका,पाँचपखन गाउँपालिका,सभापोखरी गाउँपालिका,सिलिचोङ गाउँपालिका,लालीगुराँस नगरपालिका,म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका हुँदै ताप्लेजुङको मैवाखोला,मेरिङदेन र मिक्वाखोला गाउँपालिकालाई समेट्ने दावी तीन स्थानीय तहले गरेका छन् । उक्त परियोजनाले ताप्लेजुङका उल्लेखित तीन स्थानीय तहलाई समेट्नु गम्भिर बिषय भएको भन्दै बैठकले कोशी प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण गराउने निर्णय लिएको छ ।

 

Similar Posts