आँखा स्वास्थ्य सचेतना र आँखा परीक्षण तथा उपचार कार्यक्रम गर्दै ताप्लेजुङमा मनाईयो नेत्रज्योति स्थापना दिवस

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १३ । सरोकारवालालाई आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण र आँखा परीक्षण तथा उपचार शिविरमार्फत नेपाल नेत्रज्योति संघ ताप्लेजुङले संघ स्थापनाको ४७ औं दिवस मनाएको छ ।

फुङलिङ नगरपालिका वडा नं २ मा बुधवार एकदिने आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रम र बिहीबार र शुक्रवार आँखा परीक्षण तथा उपचार शिविर आयोजना हुने छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीका अनुसार फुङलिङ नगरपालिका वडा नं २ को आर्थिक साझेदारीमा आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण र आँखा परीक्षण तथा उपचार शिविर सुरु भएको हो । अभिमुखीकरणमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविका,शिक्षक र स्थानीय अगुवाहरु सहभागी भएका हुनुहुन्छ । अभिमुखीकरणमा आँखा स्वास्थ्य सम्वन्धी प्राथमिक जानकारी तथा आँखा जोगावट सम्वन्धी आधारभूत बिषयका बारेमा अवगत गराईने नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेले जानकारी दिनुभयो । थेबेका अनुसार पहिलोदिन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी बिहीबार र शुक्रवार आँखा उपचार तथा परीक्षण शिविर सञ्चालन गरिने छ ।

४७ औं दिवस तथा आँखा स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै फुङलिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेले आँखा स्वास्थ्य क्षेत्रलाई आधारभूत मानवीय स्वास्थ्य सेवा संग जोड्न आफुहरुले नेत्रज्योति संघमार्फत सहकार्य गरेको बताउनुभयो । उहाँले शरीरको महत्वपूर्ण अंग आँखाको जोगावटका क्रममा ध्यान दिनुपर्ने बिषय देखि जनताकै घरदैलोमा पुगेर वडाभित्रका नागरिकको आँखा परीक्षण तथा उपचारको प्रवन्ध गरिदिएकोमा नेत्रज्योति संघप्रति आभार प्रकट गर्नु भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले आँखाको महत्वमाथि प्रकाश पार्दै यसको जोगावटका लागि ध्यान दिनुपर्ने बिषयमा सरोकारवालालाई जानकारी दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेत्रज्योति संघ स्थापना दिवसको अवसरमा आँखा स्वास्थ्यकै कार्यक्रममार्फत समुदायमा पुग्ने अवसर मिलेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सदस्य देवराज गुरुङले नेत्रज्योति संघ स्थापना दिवसको अवसर पारेर आँखा स्वास्थ्यका गतिविधि सञ्चालन हुनु आफैंमा सह्रानीय बिषय भएको बताउनुभयो । उद्घाटन कार्यक्रममा फुनपा वडा नं २ का वडा सदस्यहरु क्रमशःवीरेन्द्र लिम्बू,शान्ता मोक्तान तामाङ,वविता विक,वडा सचिव मनोज बुढाथोकी,नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठ,सहकोषाध्यक्ष लक्ष्मीमाया वनेम सहित नेत्रज्योति संघ ताप्लेजुङका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

Similar Posts