मुक्कुमलुङ् ढुङ्गा र फलामको नौतले भर्‍याङ हटाउन क्षेत्र विकास समितिले दियो तीनदिनको म्याद

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ८ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा डाँडामा गाडिएको मुक्कुमलुङ्(ढुङ्गा) र यग्राङसिं(फलामको नौतले भर्‍याङ)हटाउनका लागि सम्वन्धित पक्षलाई तीनदिनको समय दिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले तोकिएको समयभित्र सम्पर्कमा नआए क्षेत्र विकास समितिकोतर्फबाट हटाईने बताउनु भएको छ । क्षेत्र विकास समितिका अनुसार चैत ६ गते रातको समयमा मुक्कुमलुङ्(ढुङ्गा) र यग्राङसिं(फलामको नौतले भर्‍याङ) बिना जानकारी त्यहाँ स्थापन गरिएको छ । क्षेत्र विकास समितिले समितिको स्वीकृति बिना निर्माण वा स्थापित गरिएका पाटी,पौवा,टहरा सहित अन्य संरचना तत्काल हटाउन निर्देशन दिएको छ । मानव निर्मित संरचना हटाउने कार्य भइरहेको अवस्थामा हठात् रुपमा मुक्कुमलुङ्(ढुङ्गा) र यग्राङसिं(फलामको नौतले भर्‍याङ) राख्नु शोभनीय नरहेको क्षेत्र विकास समितिले भनेको छ ।

क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा कार्य समितिको स्वीकृति बिना भएका गतिविधि अमान्य हुने बताउँदै मुख्य प्रवेशद्धार भित्रको क्षेत्रमा मानव निर्मित संरचना निर्माण नगर्ने,उक्त क्षेत्रमा वृक्षरोपण गरी पाथीभराको प्राकृतिक सुन्दरतालाई कायम राख्ने क्षेत्र विकास समितिको योजना रहेको समेत प्रष्ट्याएको छ । क्षेत्र विकास समितिले उक्त क्षेत्रभित्र व्यक्ति,समूह,संस्था,सरकारी वा गैर सरकारी क्षेत्रबाट निर्माण भएका संरचना पन्ध्रदिन हटाउन वा अन्य व्यवस्थापनका लागि क्षेत्र विकास समितिको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Similar Posts