भानुजन माविबाट एसइई लेख्ने विद्यार्थीको विदाइ

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) लेख्ने विद्यार्थीको विदाइ गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एसइई लेख्ने विद्यार्थीलाई सफलताको शुभकामनासहित विदाइ गरेको हो ।
विद्यालयका शिक्षक शंकर श्रेष्ठका अनुसार शैक्षिक सफलताको शुभकामना दिँदै एसइई परीक्षा लेख्ने विद्यार्थी (छात्रछात्रा) लाई विद्यालयका तर्फबाट विदाइ गरिएको हो । भानुजन माविका तर्फबाट एसइईमा सहभागी हुने २०७ जना विद्यार्थीलाई अबिर र खादा लगाई दिएर विदाइ गरिएको शिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
यहि चैत ७ गतेदेखि सुरु हुने एसइई परीक्षामा सहभागी हुन लागेका २०७ जनामध्ये साधारणतर्फ १६९ र प्राविधिक धारतर्फका ३८ जना परीक्षार्थी रहेका छन् । विद्यालयका प्रधानाध्यापक किशोरकुमार राई लगायतका शिक्षकले सफलताको शुभकामना दिँदै एसइई दिने विद्यार्थीलाई विदाइ गर्नुभएको बताइएको छ ।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ अम्बिटारमा रहेको भानुजन मावि सामूदायिकतर्फ जिल्लाकै सबैभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा पर्दछ । यस विद्यालयमा कक्षा १ देखि १२ सम्म करिव दुई हजार विद्यार्थी अध्ययनरत रहेका शिक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषय पढाइ हुन्छ भने १० जोड दुई अर्थात कक्षा ११ र १२ मा विज्ञान संकाय विषयसमेत पढाइ हुँदै आएको छ ।