‘घ’वर्गका निर्माण व्यवसायी इजाजतमा आठराई त्रिबेणीको कार्यविधि:कम्तिमा तीन उपकरणको स्वामित्व अनिवार्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ‘घ’वर्गका निर्माण व्यवसायी दर्ता गर्नका लागि कम्तिमा तीनवटा निर्माण उपकरण आफ्नै स्वामित्वमा रहेको हुनुपर्ने गरी निर्माण व्यवसायी इजाजतपत्र सम्वन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
‘घ’वर्गका निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धी कार्यविधि २०७५(प्रथम संशोधन २०८१) मा ८ वटा निर्माण उपकरणको नाम तोक्दै ८ मध्ये ‘घ’वर्गका निर्माण व्यवसायीसंग कम्तिमा तीनवटा उपकरण अनिवार्य हुनुपर्ने उल्लेख छ । कार्यविधि अनुसार उल्लेखित ८ वटामध्ये ५ वटा उपकरणको अनिवार्य बीमा गरिएको हुनुपर्ने छ । ‘घ’वर्गका निर्माण व्यवसायीसंग ट्रयाक्टर ब्याक हो लोडर वा चेन एक्साभेटर,लेभल मेसिन,मिक्सचर मेसिन,भाईब्रेटर मेसिन,वाटर पम्प मेसिन र टोटल स्टेशन मेसिनहरु कम्तिमा एक–एकथान मध्ये दर्ता प्रकृयामा जान कम्तिमा तीनथान मेसिन आफ्नै स्वामित्वमा रहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । उल्लेखित मध्ये लेभल मेसिन,भाईब्रेटर,वाटर पम्प मेसिन,ब्याक हो लोडर वा चेन एक्साभेटर मेसिन र ट्रयाक्टरको अनिवार्य बीमा गरिएको हुनुपर्ने छ । उल्लेखित मेसिनहरु कम्तिमा २ बर्ष सम्म बेचबिखन गर्न पाउने छैनन् भने १५ बर्ष भन्दा पुरानो मेसिनको हकमा दर्ता प्रकृयामा गणना नगरिने गाउँपालिकाले जनाएको छ ।
घ’वर्गका निर्माण व्यवसाय दर्ताका लागि प्राइभेट वा पब्लिक लिमिटेड वा साझेदारी फर्मको रुपमा कम्तिमा एकलाख रुपैयाँ चालु पुँजी देखाई उद्योग विभागमा दर्ता भएको,कर कार्यालयमा दर्ता भएको र करचुक्ता भएको प्रमाणपत्र,फर्मको नाममा नेपाल राष्ट्र बैंकबाट ‘क’श्रेणीको इजाजत प्राप्त वाणिज्य बैंकमा खाता खोली कम्तिमा एकलाख रुपैयाँ जम्मा भएको बैंक भौंचरको सक्कलप्रति,फर्मको मानवीय जनशक्तिमा इञ्जिनियर वा सव–इञ्जिनियर एकजना,लेखा सम्वन्धी काम गर्ने एकजना र प्रशासन सम्वन्धी काम गर्ने एकजना गरी कम्तिमा तीनजना कर्मचारी कार्यरत रहेको हुनुपर्ने छ ।
कार्यरत रहने कर्मचारीको नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यता सहितका कागजात समेत निर्माण व्यवसाय दर्ताका लागि अनिवार्य गरिएको छ । उल्लेखित कर्मचारीले दर्ता हुने फर्ममा पूर्ण रुपमा काम गर्नेगरी गरेको करारनाम समेत संलग्न हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा इजाजतपत्रको नाम परिवर्तन,नामसारी र ठाउँसारी सम्वन्धी व्यवस्था समेत उल्लेख गरिएको छ । कार्यविधि लागु हुनुभन्दा पहिले गाउँ कार्यपालिकाको कार्यालयबाट निर्माण व्यवसायी सम्वन्धी सम्पादन भएका सम्पूर्ण कार्यहरु अहिलेकै कार्यविधि अनुरुप भए गरेको मानिने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ११ को उपदफा २ को ६(१०)मा ‘घ’वर्गका निर्माण व्यवसायीलाई इजाजत दिने तथा नियमन गर्ने प्रकृयाका लागि स्थानीय तहले कार्यविधि बनाई कार्यान्वयनमा लैजान सक्ने व्यवस्था गरिएको छ ।