स्ववियु अध्यक्षमा नेविसंघको उम्मेदवार जोगी

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २६ । नेपाल बिद्यार्थी संघले ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा आफ्नोतर्फबाट तिलकुमार जोगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेपाल बिद्यार्थी संघका नेता तथा पाथीभरा बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष अर्जुन खिम्दिङ लिम्बूले जोगीलाई नेविसंघकोतर्फबाट अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । ताप्लेजुङमा स्ववियु निर्वाचन हुने पाथीभरा बहुमुखी क्याम्पस एकमात्र हो । स्ववियु निर्वाचनका लागि ४ सय ५३ महिला र १ सय ५१ पुरुष गरी अहिलेसम्म ६ सय ४ जना मतदाता रहन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रारम्भिक रुपमा अनुमान गरिएका मतदाताको अवस्था हेर्दा महिला ७५ प्रतिशत र पुरुष २५ प्रतिशतको अवस्थामा देखिएको छ । १५ सदस्यीय स्ववियु कार्य समितिमा रहने ५ पदाधिकारीमध्ये अध्यक्ष,सचिव र कोषाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने छ भने उपाध्यक्ष र सहसचिव समानुपातिकबाट छानिने व्यवस्था रहेको छ । यता अनेरास्ववियुले भने पब्लिक गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने प्रतिश्पर्धामा जाने तयारी गरिरहेको बुझिएको छ । तर उसले अहिले सम्म आफ्ना आधिकारिक उम्मेदवार घोषणा गरिसकेको छैन ।