अनसन र बन्द सहितका कार्यक्रम समेटेर मुक्कुमलुङ संरक्षण संघर्ष पक्षधरद्धारा आन्दोलनका कार्यक्रम घोषणा

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २६ । मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले जनसभा,आमसभा,अनसन र बन्द सहितका कार्यक्रम समेटेर तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
फागुन २८ गते काठमाडौंमा उपत्यका बुद्धिजीवी भेला गर्दै आन्दोलनका कार्यक्रम सुरुआत गर्नेगरी सोमवार पत्रकार सम्मेलनमार्फत आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तरगत चैत २ गते राजनीतिक दल,प्रदेश तथा संघीय सांसदहरुलाई मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारी पत्र दिने,चैत ३ गते व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकालाई मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारी पत्र दिने,चैत ४ दखि १२ गते सम्म संरक्षणकारी अगुवा कार्यकर्ताको भेला तथा छलफल कार्यक्रम सञ्चालन गर्ने,चैत ६ गते अन्तर धार्मिक समन्वय भेला आयोजना गर्ने,चैत ७ गते देखि अन्तराष्ट्रिय निकायहरुमा मुक्कुमलुङ संरक्षण आन्दोलनका बारेमा जानकारी पत्र दिने कार्यक्रम घोषणा गरिएको छ ।
चैत १५ गते देखि २२ गते सम्म १४ वटा जिल्लाहरुमा गाउँ जागरण अभियान,घाइते तथा पक्राउ पूर्जी जारी भएकाहरुसंगको भेटघाट कार्यक्रम गर्ने घोषणा गरिएको छ । यही अवधिमा ताप्लेजुङमा केन्द्रित रहेर मुक्कुमलुङ संरक्षण स्वयंसेवक टोली गठन अभियान सञ्चालन गर्ने घोषणा गरिएको छ । जनसभा,आमसभा,अनसन र बन्द सहितका कार्यक्रम अन्तरगत चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन,चैत ३ गते देखि ताप्लेजुङको फुङलिङमा रिले अनसन,चैत ३ गते नै जुम बैठकद्धारा पक्राउ परेका,वारेन्ट जारी भएकाहरुको नामावली सार्वजनिक र फुङलिङमा फागुन १० गते भएको घटना बारे विश्वभरी जानकारी दिने तथा घटनामा घाइते भएकाहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम घोषणा गरिएको छ ।
चैत ४ गते सांकेतिक रुपमा एशियन हाइवे(कोशी प्रदेश)(आन्दोलनरत पक्षले कोशी प्रदेशलाई प्रदेश १ भनेका छन्)मा एकदिने बन्द,चैत ६ गते काठमाडौंमा सिंहदरवार घेराउ,चैत ८ गते मुक्कुमलुङ आन्दोलनका क्रममा भएका घटनाहरुको फोटो प्रर्दशनी कार्यक्रम राखिएको छ । यस्तै चैत ९,१० र ११ गते लाहान,जनकपुर र लालबन्दीमा जनप्रर्दशन तथा आमसभा,चैत १० गते कवि तथा साहित्यकार भेटघाट कार्यक्रम,चैत २४ गते पूर्वी नेपालका १४ जिल्लाहरुमा जनप्रर्दशन तथा आमसभाको कार्यक्रम राखिएको छ । चैत २५ गते देखि पूर्वी नेपालका १४ जिल्लाहरुमा अनिश्चिकालिन यातायात बन्दका कार्यक्रम घोषणा गरेको आन्दोलनरत पक्षले बन्दका कार्यक्रम परिस्थिति अनुसार सो भन्दा अघि हुनसक्ने समेत विज्ञप्तिमार्फत घोषणा गरेका छन् । (फायल फोटो)