| |

वर्तमान सरकार निरंकुस बन्यो : उपाध्यक्ष श्रेष्ठ

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ७ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरङ्कुस बन्दै गएको बताउनुभयो । अधिवेशन बोलाउने समयमा संसदलाई छलेर अध्यादेश ल्याउनु निरङ्कुसताको एक ज्वलन्त उदाहरण भएको श्रेष्ठले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल ताप्लेजुङलेसदरमुकाम फुङ्लिङमा बुधबार आयोजना गरेको पत्रकार भेटघाटमा छ–छ वटा अध्यादेश ल्याएर सरकार निरङ्कुस बनेको उपाध्यक्ष श्रेष्ठले आरोप लगाउनुभयो । परिस्थितिजन्य अवस्थामा तत्काल कुनैपनि समस्याको समाधान गर्नुपर्ने भएमा अध्यादेशमार्फत कानुन बनाउन सकिनेगरी संविधानमा व्यवस्था गरिएको छ । वर्तमान सरकार भने संविधान विपरीत अध्यादेश ल्याएर निरङ्कुस बनेको उहाँको भनाइ छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएको नेता श्रेष्ठले दुई दलीय व्यवस्था ल्याउने र ठूला दलले मात्र शासन गर्नेभन्दै थ्रेसहोल्ड बढाउनेगरी अध्यादेश ल्याएर काँग्रेस–एमाले नेतृत्वको सरकार निरङ्कुस बनिरहेको बताउनुभयो । त्यस्तै नियमनका नाउमा बोल्नै नपाउने र लेख्नै नपाउनेगरी सामाजिक सञ्जाल विधेयक ल्याएर सरकारले निरङ्कुसता देखाएको छ ।
त्यस्तै भ्रष्टारीहरुलाई संरक्षण गरेर भ्रष्टाचार बढाउने, संविधान संशोधन गर्ने भनेर समानुपातिक तथा समावेशिताको व्यवस्था हटाउने योजनासहित सरकारले छलछामको खेती गरिरहेको पनि उहाँले आरोप लगाउनुभयो । वर्गीय, जातीय, लिंगीय, पिछडिएका क्षेत्र लगायतको प्रतिनिधित्व गर्ने र उनीहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा गरिएको व्यवस्थाविरुद्ध वर्तमान सरकार रहेको उहाँले बताउनुभयो । यसखाले संविधान संशोधनको योजनाप्रति चौतर्फी विरोध भएपछि फेरि सबैको सहमतिबाट मात्र संविधान संशोधन गर्ने भनेर सरकारले छलछाम गरिरहेको उहाँको आरोप छ ।
यसरी सरकारले अध्यादेशमार्फत देश चलाउन खोजेर निरङ्कुसता र तानाशाही प्रवृत्ति देखाएको उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको पनि बताउनुभयो । देश र जनताको हित विपरीत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वले सरकार ढालेर बनाएको वर्तमान सरकार सोहीअनुसार अहिलेको कामले देश र जनताको अहितमा सरकार रहेको प्रस्ट्याएको उहाँको दावी छ ।
देशको विकास र समृद्धि तथा समग्र जनताको हितमा माओवादी पार्टी भएकाले प्राप्त उपलब्धिको रक्षा गर्दै जनताको हितमा हुनेगरी आफ्नो पार्टी पनि संविधान संशोधनको पक्षमा रहेको उहाँले बताउनुभयो । सबै जाति, वर्ग र क्षेत्रको पक्षमा, थप जनमुखी साथै निर्वाचित कार्यकारी राष्ट्र प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनेगरी संविधान संशोधन गर्न माओवादी तयार रहेको उहाँले बताउनुभयो ।
उहाँले ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार योजनाका विषयमा गोली चल्नु दुःखद भएको टिप्पणी गर्नुभयो । स्थानीय समुदायको भावना र मागलाई सम्बोधन गरेर मात्र केबुलकार बनाउनुपर्ने साथै वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उहाँले जोड दिनुभयो । माओवादी नेता श्रेष्ठ बुधबार (आज) हुने माओवादी केन्द्र मैवाखोला गाउँपालिका कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्न ताप्लेजुङ आउनुभएको हो ।

Similar Posts