| |

वाइसीएल कप उपाधि तेल्लोक र सुरुम्खिमलाई

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ६ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा सम्पन्न दोस्रो वाइसीएल कप फुटबल प्रतियोगिताको उपाधि तेल्लोक र सुरुम्खिमले जितेका छन् । सिरिजंघा गाउँपालिका–५ पेदाङमा सोमबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तेल्लोक र महिलातर्फ सुरुम्खिमले उपाधि जितेका हुन् ।
खेबाङ स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै तेल्लोक स्पोर्टिङ क्लबले उपाधि जितेको हो । उपाधि जितसँगै तेल्लोकले ४० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको खेबाङले २० हजार रुपियाँ नगदसाथै पदक र प्रमाणपत्र पाएको छ ।
यस्तै महिलातर्फ गणेश मावि खेबाङलाई २–० गोलअन्तरले पराजित गर्दै सुरुम्खिमले उपाधि जितेको हो । उपाधि जितेसँगै सुरुम्खिमले २० हजार रुपियाँ नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र हात पारेको छ । उपविजेता गणेश माविले १० हजार रुपियाँ नगद, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा कम्युनिस्ट लिग (वाइसीएल) नेपाल वडा कमिटी पेदाङले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १२ टोली सहभागी भएका थिए । त्यस्तै भलिबल विधातर्फ सिरिजंघा गाउँपालिका–५ पेदाङको होक्माटोलले उपाधि जितेको छ । पेदाङकै मातृभूमि क्लबलाई २–० को सोझो सेटमा हराउँदै होक्माटोलले उपाधि जितेको हो ।
भलिबलमा उपाधि विजेता टोलीले आठ हजार र उपविजेताले पाँच हजार रुपियाँ नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । मैत्रीपूर्ण अन्डर–१५ फुटबल, डोरी तान्नेजस्ता प्रतियोगिता आयोजना गरिएको वाइसीएलका जिल्ला अध्यक्ष कैलास माबोले जानकारी दिनुभयो ।
यता विभिन्न प्रतियोगिताका विजेतालाई वाइसीएलका केन्द्रीय अध्यक्ष सुवोध श्रीपाइली, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, वाइसीएलका केन्द्रीय उपाध्यक्ष मिङ्माडण्डु शेर्पा, वाइसीएल कोशी प्रदेश समितिका सहसंयोजक विक्रम शंखर लगायतले पुरस्कार रकम, ट्रफी र प्रमाणपत्रहरु वितरण गर्नुभएको थियो । प्रतियोगिता फागुन १ गतेदेखि ५ गतेसम्म राष्ट्रिय मावि पेदाङको खेलमैदानमा सञ्चालन भएको थियो ।

Similar Posts