हरेकदिन राष्ट्रियगान गाएर कार्यालयको दैनिकी सुरु गर्दै पाथीभरा याङवरक

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ५ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कार्यालय परिसरको प्रवेशद्धार अगाडि हरेकदिन राष्ट्रियगान गाएर कार्यालयको दैनिकी सुरु गर्न थालेको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले कर्मचारीले हरेक दिन ९ः५५ भित्रमा कार्यालयको प्रवेशद्धार अगाडि भेला भइसक्नुपर्ने र त्यसलगत्तै राष्ट्रियगानमा सरिक हुनुपर्ने जानकारी दिनुभयो । १० बजे अगावै राष्ट्रियगानको कार्यक्रम सकेर कर्मचारीहरु आ–आफ्नो कार्यकक्षमा प्रवेश गर्ने पौडेलले बताउनुभयो । उहाँ प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि यो प्रचलन सुरु भएको पालिकाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा पनि कार्यालय सुरु हुनुभन्दा अघि हरेकदिन राष्ट्रियगान गाएर कार्यालयको दैनिकी सुरु गर्ने प्रचलन छ । रविन्द्र आचार्य यहाँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहँदा सुरु भएको उक्त कार्य अहिले पनि कायम रहेको सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले जानकारी दिनुभयो । ‘सुरुमा जस्तो कार्यालय प्रवेशद्धारको अघि हैन,अहिले कार्यकक्षमै ठ्याक्कै १० बज्नु अघि राष्ट्रियधुन बज्ने र सो संगै कार्यालयको कामकाज सुरु हुन्छ‘खड्काले भन्नुभयो ।

Similar Posts