राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने विद्यार्थीलाई सम्मान

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङको आठराई त्रिबेणी र मेरिङ्देन गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल विद्यार्थी (खेलाडी) लाई सम्मान गरेका छन् । आफ्ना पालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई विभिन्न विधामा विभिन्न पदकमा विजयी हुन सफल विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेका हुन् ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको आयोजनामा भएको प्रतियोगितामा आठराई त्रिबेणी गाउँपालिकाले २० स्वर्ण, २० रजत र १९ वटा कास्य पदक जितेर दोस्रो भएको थियो । गाउँपालिकाको तर्फबाट पालिकाभित्र रहेका आधा दर्जन माध्यमिक विद्यालयबाट सहभागी भएर विभिन्न पदक जित्न सफल विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन)का अनुसार शुक्रबार एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थी र व्यवस्थापन गने टोलीका नेतृत्वलाई सम्मान गरिएको छ । प्रतियोगितामा स्वर्ण पदक जित्ने विद्यार्थीलाई जनही चार हजार रुपियाँ, रजत तीन हजार र कास्य पदक जित्नेलाई दुई हजार रुपियाँका दरले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको अध्यक्ष पोमुले बताउनुभयो ।
यस्तै मेरिङ्देन गाउँपालिकाले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो पालिकाका तर्फबाट सहभागी भई विभिन्न पदक जित्ने विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा विभिन्न विधामा पदक जित्न सफल विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङगाम (डम्बर) ले जानकारी दिनुभयो ।
अध्यक्ष हाङ्गामका अनुसार स्वर्ण पदक जित्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपियाँका दर नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ । मेरिङ्देन गाउँपालिका समान दुई–दुई स्वर्ण, रजत र कास्य पदकमा जित निकाल्दै चौथो भएको थियो । जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मैवाखोला गाउँपालिकाको साँघुमा गएको आइतबारदेखि बुधबारसम्म सञ्चालन भएको थियो ।