प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादनको प्रारम्भिक नतिजामा पाथीभरा याङवरक अगाडि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ३० । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको आर्थिक बर्ष २०८०।८१ को कार्य सम्पादनको प्रारम्भिक नतिजामा ताप्लेजुङमा पाथीभरा याङवरक गाउँपालिका अगाडि देखिएको छ । मूल्याङ्कन नतिजामा चित्त नबुझे फागुन पहिलो साताभित्रमा प्रमाणसहित पुनरावलोकनका लागि निबेदन दिन सकिने भएकोले त्यसपछि मात्र अन्तिम नतिजा आउने छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा गरेको मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार पाथीभरा याङवरकले ६७.६ अंक पाएको छ । मैवाखोला गाउँपालिकाले ६४.६ अंक पाउँदा आठराई त्रिबेणी गाउँपालिकाले ५८.७ अंक पाएको छ । आठराई नजिक अंक पाएको फक्ताङलुङ गाउँपालिकाले ५८.६ अंक पाएको छ । फुङलिङ नगरपालिकाले ५७ अंक पाउँदा सिरिजङ्गा गाउँपालिकाले ५६.४ अंक पाएको आयोगको वेभसाइटमा उल्लेख गरिएको छ । मिक्वाखोला गाउँपालिकाले ४९.५ अंक पाएको छ भने मेरिङदेन गाउँपालिकाले ४६.१ अंक पाएको छ । सिदिङ्वा गाउँपालिकाले ४५.७ अंक पाएको आयोगले प्रकाशित गरेको नतिजामा उल्लेख गरिएको छ ।

कार्य सम्पादन मूल्याङकनका सूचकहरुमा असार १० भित्र बजेट पेश गरेनगरेको, असार मसान्तभित्र बजेट पारित गरेनगरेको,आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेनगरेको,बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेनगरेको जस्ता बिषय छन् । यस्तै विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरेनगरेको जस्ता सूचकहरूका आधार मूल्यांकन गरिएको छ । त्यस्तै, आवधिक योजना तर्जुमा गरेनगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवती मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू रहेका छन् ।

Similar Posts