|

छुट्टाछुट्टै घटनामा शिक्षकसहित दुईको मृत्यु

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २९ । ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भीरबाट लडेर एक महिला र मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मिक्वाखोला गाउँपालिका–५ पापुङ, तिलजुङकी ४३ वर्षीया तेजकला साँवा लिम्बूको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमा घाँस काटेर फर्कने क्रममा घरभन्दा करिव एक किलोमिटर टाढा रहेको भीरबाट अचानक लडेर लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
यस्तै मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुका ४४ वर्षीय गणेशमान एभेङ लिम्बूको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । लिम्बू थिङ्लाबुस्थित सिंहकाली माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्थ्यो । उहाँको विराटनगरमा उपचारको क्रममा सोमबार मृत्यु भएको मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबिर हाङगाम (डम्बर) ले जानकारी दिनुभयो ।
डेढ साता अघि मोटरसाइकल दुर्घटनामा परी लिम्बू गम्भीर घाइते हुनुभएको थियो । मृतक लिम्बूको शव मंगलबार (आज) साँझसम्ममा ल्याई पु¥याइने र गाउँमै दाहसंस्कार गर्ने तयारी रहेको स्थानीय सूर्यमान ओख्राबुले जानकारी दिनुभयो ।
यता पाथीभरा बहुमुखी क्याम्पसले शोक वक्तव्य जारी गर्दै माघ ३० गते बुधबारका दिन शोक विदा दिएको छ । क्याम्पस प्रमुख सजन पौडेलका अनुसार दुर्घटनामा परी दिवंगत हुनुभएका लिम्बू पाथीभरा बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायतर्फ स्नातकोत्तर तह एमएड दोस्रो सेमेष्टरमा अध्ययनरत रहनुभएकाले बुधबार क्याम्पस विदा दिइएको हो ।

Similar Posts