जनताकै घरदैलोमा पुगेर सेवा दिदैं पाथीभरा याङवरक

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । जनताकै घरदैलोमा पुगी सेवा दिने कार्यक्रम अन्तरगत ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन गरेको ६ दिने एकीकृत घुम्ति शिविरबाट ९ सय बढी सेवाग्राही लाभान्वित भएका छन् ।
पालिकामा सहज पहुँच रहेको र पालिकाको केन्द्र समेत रहेको रहेको वडा नं २ थेचम्बु बाहेक पालिकाका अरु ६ वटै वडामा माघ ७ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरमार्फत ९ सय १ जना व्यक्तिले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिनुभयो । शिविरमार्फत वडा नं १ नाङखोल्याङका १ सय ८० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यस्तै ६० बर्षमाथिका ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८१।८२ मा आयोजना सञ्चालन गर्न तोकिएका श्रमिकहरुलाई कार्यस्थल जानुपूर्व दिइने अभिमुखीकरण कार्यक्रमतर्फ १५ जनालाई सेवा उपलब्ध गराइएको छ ।
वडा नं ३ तिरिङ्गेमा १ सय ३ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण र ६० बर्षमाथिका ५५ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । त्यहाँ १० जनालाई श्रमिक अभिमुखीकरण गराइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो । वडा नं ४ डुम्रिसेमा ९२ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गर्दा ६० बर्षमाथिका ४४ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । डुम्रिसेमा ९ जनालाई श्रमिक अभिमुखीकरण दिइएको छ ।
वडा नं. ५ चाक्सिबोटेमा ६३ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ भने ४४ जना ६० बर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा ९ जनालाई श्रमिक अभिमुखीकरण गराइएको छ । यस्तै वडा नं ६ थुम्बेदिनमा १ सय ५७ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण र ६० बर्षमाथिका ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ भने १० जनालाई श्रमिक अभिमुखीकरण गराइएको गाउँपालिकाले जनाएको छ ।