अक्षराम्भ र अभिभावक दिवससंगै ताप्लेजुङमा मनाईयो सरस्वती पूजा

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २१ । ताप्लेजुङका बिद्यालयहरुमा सोमवार अक्षराम्भ कार्यक्रम सुरु भएको गरिएको छ ।

यहाँका सामुदायिक तथा संस्थागत बिद्यालयहरुले वसन्त पञ्चमी पनि भनिने सरस्वती पूजाका दिनबाट घरदेखि विद्यालयसम्म बालबालिकालाई जीवन खुड्किलो चढाउने शिक्षाको आरम्भ गराएका छन् । वसन्त ऋतु शुभारम्भकै दिन शिक्षा प्राप्तिको सुरुवात गरिने परम्परा अनुरुप सरस्वती पूजाकै दिनबाट अक्षराम्भ प्रारम्भ गरिएको यहाँस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलले जनाएको छ । बिद्यालयका प्रिन्सिपल युवराज गिरीका अनुसार उक्त बिद्यालयमा सोमवारबाट २५ जना बालबालिकाले अक्षराम्भ गरेका छन् । अक्षराम्भको दिनबाट बिद्यालयमा भर्ना भएका बालबालिकालाई बिद्यालयले कक्षा १० सम्मको प्रवेश शुल्क मिनाह गरिदिएको छ । यस्तै ६ महिना सम्मको मासिक शुल्क समेत छुट गरेको गिरीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)रवि रावल,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई सहितको उपस्थितिमा कार्यक्रम भएको बिद्यालयले जनाएको छ ।

स्नातकोत्तर तहको पढाई हुने जिल्लाको एकमात्र पाथीभरा बहुमुखी क्याम्पसमा सरस्वती पूजासंगै बिद्यार्थी तथा शिक्षकको आँखा जाँचा समेत गरिएको छ । नेपाल नेत्रज्योति संघ डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आँखा जाँच कार्यक्रम गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शीला इजमले जानकारी दिनुभयो । यता फक्ताङलुङ गाउँपालिका लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालयमा सरस्वती पूजा संगै बिद्यालयका संस्थापक प्रधानाध्यापक दामोदार अधिकारीको इतिबृतान्त समेटिएको पुस्तक‘सिँवाको मास्टर’को बिमोचन गरिएको छ । संस्थापक प्रधानाध्यापक अधिकारीका छोरा दिनेशको उपस्थितिमा उक्त पुस्तक बिमोचन गरिएको प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो । अधिकारी परिवारले दुईबर्ष अघिमात्र सो बिद्यालयमा सरस्वतीको मन्दिर स्थापना गरी प्राण प्रतिष्ठा समेत गर्नु भएको थियो ।

फुङलिङस्थित ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले अभिभावक दिवस तथा सरस्वती पूजा अक्षराम्भ संगै बिभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनाएको छ । बिद्यालयका प्रिन्सिपल इन्द्रकुमार गुरुङले सरस्वती पूजाको अवसरमा अक्षराम्भसंगै अभिभावक दिवस समेत मनाईएको जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न बक्ताहरुले बिद्यालयको पछिल्लो प्रगति र शैक्षिक उन्नयनमा बिद्यालयको भूमिका बारे बोल्नु भएको थियो । जिल्लामा रहेका अन्य सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा सरस्वती पूजा तथा अक्षराम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सम्वन्धित बिद्यालयहरुले जनाएका छन् ।

सोमबारबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । बसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यसदिन बालबालिकालाई नाक–कान छेड्न पनि शुभ समय मानिन्छ ।

Similar Posts