फुङ्लिङसहित तीन पालिकामा माओवादीको कमिटी चयन
-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १६ । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले तीनवटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित तीन स्थानीय तहमा नयाँ कमिटी चयन गर्दै माओवादीले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको हो ।
माओवादी केन्द्रका अनुसार फुङ्लिङ नगरपालिकाको तेस्रो अधिवेशनले जीतेन चेम्जोङ लिम्बूलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै नगर कमिटी चयन गरेको छ । नगर कमिटी उपाध्यक्षहरुमा सुरेश फुरुम्बो लिम्बू, वाङगे शेर्पा र फूलमाया गुरुङ चयन हुनुभएको छ । सचिवमा पृथ्वी मादेन, सहसचिव बाबुराम पालुङ्वा र कोषाध्यक्षमा सरस्वता विक चयन हुनुभएको छ ।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाको तेस्रो अधिवेशनबाट हर्क सेनेहाङ (रिजन) अध्यक्षमा चयन हुनुभएको छ । पालिका कमिटी उपाध्यक्षमा दुर्गा इजम, देवीमाया दाहाल र फूलकमल थलङ, सचिवमा सूर्यबहादुर खड्का, सहसचिव बृख तामाङ र कोषाध्यक्षमा फूलथुङ्गा थेबे सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सिरिजंघा गाउँपालिकाको तेस्रो अधिवेशनले ज्ञानु ताम्लिङ अध्यक्ष रहेको नयाँ पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रकाश पौडेल, जीतबहादुर बुढाक्षेत्री र कविता लिम्बू गौतम, सचिवमा अर्जुन भट्टराई, सहसचिव हेमन्त पौडेल र कोषाध्यक्षमा सुकबिर माबो लिम्बू चयन हुनुभएको छ ।
पालिकास्तरीय अधिवेशनहरु माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुदन किराती, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम), केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएका छन् । नौ स्थानीय तह रहेको जिल्लामा बाँकी पालिकाहरुमा पनि क्रमशः अधिवेशन गर्ने कार्यतालिका रहेको माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकरी दिनुभयो ।