ताप्लेजुङका ७ स्थानीय तहले ८० प्रतिशत समपुरक अनुदान पाउने,मेरिङदेनले ७० र फुङलिङले ५० प्रतिशत पाउने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ११ । समपुरक अनुदानका लागि सरकारले बर्गिकरण गरेको तह अनुसार ताप्लेजुङका ७ स्थानीय तहले ८० प्रतिशत सम्म अनुदान पाउने भएका छन् ।
पूर्वाधारका लागि दिने अनुदानलाई समपुरक अनुदान भनिन्छ । स्थानीय तह एक्लैले निर्माण गर्न नसक्ने ठूला पूर्वाधारका योजना प्रदेश तथा केन्द्रको साझेदारीमा निर्माण गर्न समपुरक अनुदानको व्यवस्था गरिएको छ । यस्ता परियोजना निर्माणका लागि लाग्ने लागत हिस्सामा बिभाजन गरिन्छ । सरकारले स्थानीय तहको राजश्वका अवस्था हेरेर २० देखि ८० प्रतिशत सम्म अनुदानको व्यवस्था गरेको छ ।
ताप्लेजुङका मिक्वाखोला गाउँपालिका,पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका,फक्ताङलुङ गाउँपालिका,सिरिजङ्गा गाउँपालिका,मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाले ८० प्रतिशत समपुरक अनुदान पाउने छन् । यसको अर्थ मानौं १ लाख रुपैयाँ बराबरको पूर्वाधारको योजना सम्पन्न गर्नुपर्ने अवस्थामा उल्लेखित ७ स्थानीय तहमा ८० हजार रुपैयाँ समपुरक अनुदान उपलब्ध हुने छ भने २० हजार रुपैयाँ सम्वन्धित स्थानीय तहले लागत साझदारी गर्नुपर्ने हुन्छ ।
यस्तै मेरिङदेन गाउँपालिकाले ७० प्रतिशत अनुदान पाउने छ । ताप्लेजुङको एकमात्र नगरपालिका फुङलिङ नगरपालिकाले भने समपुरक अनुदानमा ५० प्रतिशत अनुदान पाउने छ । ‘क’देखि ‘छ’वर्ग गरी स्थानीय तहलाई ७ वर्गमा बर्गिकरण गरिएको छ । ‘क’वर्गमा परेकाले ८० प्रतिशत अनुदान पाउँदा २० प्रतिशत लागत साझेदारी बहन गर्नुपर्ने हुन्छ भने ‘छ’वर्गमा परेकाले २० प्रतिशत अनुदान पाउँदा ८० प्रतिशत लागत साझेदारी व्यहोर्नुपर्ने हुन्छ ।