चालू आवको ६ महिनामा पाथीभरा मन्दिरमा आए १ लाख बढी दर्शनार्थी,१ करोड ३० लाख बढी भेटि संकलन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २ । चालू आवको ६ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शनका लागि १ लाख बढी भक्तजन आएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन देखि पुस मसान्त सम्ममा १ लाख ६ हजार ६ सय २३ जना दर्शनार्थी मन्दिर पुगेका हुन् । क्षेत्र विकास समितिको कार्यालयका सूचना प्रविधि फाँट संयोजक सन्तोष पुर्कुटीका अनुसार चालू आवको ६ महिनाको अवधिमा १ करोड ३० लाख २४ हजार ४ सय ५६ रुपैयाँ भेटि संकलन भएको छ । एक महिना भरी संकलन भएको भेटि सदरमुकामस्थित पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा ल्याएर गणना हुने गरेको छ । भेटि गणनास्थलमा सिसी क्यामेराको निगारानी र प्रहरी कर्मचारीको रोहवर अनिवार्य गरिएको छ ।

क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार चालू आवको कात्तिक महिनामा सबैभन्दा बढी दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि आएका छन् । उक्त महिनामा ६१ हजार १ सय ७३ जना दर्शनार्थी पाथीभरा आएका थिए । यस्तै मंसिर महिनामा २१ हजार १ सय ८० जना,भदौ महिनामा ९ हजार ९ सय ३९ जना,पुस महिनामा ६ हजार ४ सय २७ जना,असोज महिनामा ५ हजार ९ सय ४९ जना र साउन महिनामा १ हजार ९ सय ५५ जना दर्शनार्थी पाथीभरा मन्दिरको दर्शनका लागि पुगेको पाथीभरा क्षेत्र विकास समितिको अभिलेखमा रहेको छ ।

नवरात्र समय असोज महिनामा आएको बाढी र पहिरोका कारण मेची राजमार्ग तथा तमोर करिडोरको बिभिन्न क्षेत्रमा देखा परेको सडक अवरोध र हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि उक्त महिनामा तीर्थयात्री अपेक्षाकृत कम भएका थिए । तर कात्तिक महिनामा अघिल्लो आवको सोहि महिना भन्दा पनि बढी दर्शनार्थी मन्दिर आए । पाथीभरा मन्दिर आउनका लागि मेची राजमार्ग तथा तमोर करिडोर दुबैक्षेत्र प्रयोग गर्न सकिन्छ । चिसोका कारण पाथीभरा मन्दिरको दर्शनमा साविक बर्षहरुमा पुस महिनामा कम दर्शनार्थी हुने गरेकोमा यसबर्ष झण्डै साढे ६ हजार दर्शनार्थी मन्दिर पुगेका छन् । मौसम खुल्ला भएको,घाम लागिरहेकोले चिसोका मात्रा समेत कम हुने भएकोले यसबर्षको हिउँद याममा समेत पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको संख्यामा कमी नभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा मन्दिरमा बडादशैं,तिहार र आसपासको समयमा साविक भन्दा बढी दर्शनार्थी आउने गर्छन् । यसपछि राम नवमी तथा चैते दशैं आसपासमा दर्शनार्थीको साविक भन्दा बढी चाप हुने गर्छ । यसबर्ष मध्य बर्षाको समय साउन–असोज तथा मध्य जाडोको समय मंसिर–पुसको अवधिमै दर्शनार्थी संख्यामा कम भएकोले पाथीभरा मन्दिरमा आउने दर्शनार्थी अघिल्लो बर्ष भन्दा चालू आवमा बढ्ने देखिएको छ ।

 

Similar Posts