ताप्लेजुङमा मनाईयो दशौं राष्ट्रिय योग दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १ । ताप्लेजुङमा योगाभ्यास सहित शुभकामना आदान–प्रदान गरेर दशौं राष्ट्रिय योग दिवस मनाईएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको सहयोगमा पतञ्जली योग समिति ताप्लेजुङले योग दिवस मनाएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा,पतञ्जली योग समिति कोशी प्रदेश सदस्य शान्ति मादेन र पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी सहितले योगको महत्व र योगाभ्यासमा संलग्नताको बिषयमा प्रकाश पार्नु भएको थियो ।
पतञ्जली योग समिति ताप्लेजुङका अध्यक्ष सुष्मा शाक्यका अनुसार अहिले ताप्लेजुङका तीनवटा केन्द्रमार्फत योगाभ्यास गराईदैं आएको छ । शाक्यका अनुसार फुङलिङस्थित ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहल,जिल्ला समन्वय समितिको हल र फुङलिङस्थित वालमन्दिर आधारभूत बिद्यालयमा समेत योगाभ्यास गराइन्छ । ताप्लेजुङ उद्योग वाणिज्य संघको सभाहलमा लामो समय देखि योगाभ्यास गराईदैं आएकोमा अहिले जिल्ला समन्वय समितिको हल र वालमन्दिर आवि समेत थप गरेर तीनवटा केन्द्रमार्फत योगाभ्यास गराइन थालेको पतञ्जली योग समिति ताप्लेजुङका उपाध्यक्ष मूना राईले जानकारी दिनुभयो ।
पतञ्जली योग समिति ताप्लेजुङका सल्लाहकार सुन्दरमोहन शाक्यले योगाभ्यासमा संलग्नहुनेहरु बढ्दै गएपछि योगाभ्यास केन्द्रहरु समेत थप हुँदै गएको जानकारी दिनुभयो । अस्थिर मनलाई स्थिर बनाउन,शारीरिक तन्दुरुस्ती कायम राख्न,आध्यात्मिक पक्ष बलियो बनाउन, पाचन प्रक्रियालाई सहज बनाउन र स्फूर्त शरीरका लागि नियमित योगले फाईदा पु¥याउने योगविज्ञहरु बताउँछन् । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिने तथा युवापनको अनुभूति समेत गराउने उनीहरुको तर्क छ ।