|

पाथीभरा सिम्बु वन समूह अध्यक्षमा सेम्बु निर्वाचित

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २८ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थि पाथीभरा सिम्बु सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अमृत सेम्बु लिम्बू निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी दिनेश राईलाई पराजित गर्दै सेम्बु समूहको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समूहको कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा ६७ मत प्राप्त गरी सेम्बु निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी राईले ५८ मत प्राप्त गर्नुभएको थियो । यस्तै समूहको उपाध्यक्षमा टेकबहादुर बिष्ट निर्वाचित हुनुभएको छ । अर्का प्रत्यासी तुलसी भट्टराईलाई दुई मतको अन्तरले पराजित गर्दै बिष्ट निर्वाचित हुनुभएको हो । बिष्ट ५८ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो भने भट्टराईले ५६ मत पाउनुभएको थियो ।
सचिवमा ताराकुमारी लिम्बू र सहसचिवमा लालबहादुर बिष्ट निर्वाचित हुनुभएको छ । सचिवमा निर्वाचित लिम्बूले ५५ र सहसचिवमा बिष्टले ६० मत प्राप्त गर्नुभएको थियो । सचिवका पराजित उम्मेदवार झुनाकुमारी लिम्बूले ५४ र सहसचिवमा टेकबहादुर भट्टराईले ५० मत पाउनुभएको थियो । समूहको कोषाध्यक्षमा प्रतिद्वन्द्वी मनिता रोक्कालाई पराजित गर्दै इन्दिरा कार्की (बिष्ट) निर्वाचित हुनुभएको छ । कार्कीले ५८ मत प्राप्त गरी निर्वाचित हुँदा रोक्काले ५३ मत मात्र पाउनुभयो ।
समूहको सातौं साधारणसभामा सर्बसम्मत हुन नसकेपछि कार्यसमितिको पदाधिकारीका लागि निर्वाचन भएको हो । समूहको २१ सदस्यीय कार्यसमिति चयन हुँदा पदाधिकारीबाहेक सदस्य पदमा भने सर्बसम्मत भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
समूहको साधारणसभामा पाथीभरा सव–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत देवचन्द्र गोइत, फरेष्टर फुपुग्याबु शेर्पा, फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई (योगेश), फुङ्लिङ नगरका पूर्व उपप्रमुख बमबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, फुङ्लिङ नगरपालिकाका अध्यक्ष अम्बर विककोसमेत उपस्थिति रहेको थियो ।

Similar Posts