ताप्लेजुङमा दुई चरणमा एचपिभी बिरुद्धको खोप सञ्चालन हुने,करिव ७ हजार किशोरीलाई खोप दिने लक्ष्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २७ । ताप्लेजुङमा पाठेघरको क्यान्सर बिरुद्ध दिइने एचपिभी खोप दुईचरण्मा सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार माघ २२ गते देखि २६ गते सम्म पहिलो चरणमा फुङलिङ नगरपालिका सहित ४ स्थानीय तहमा सञ्चालन हुने छ । यस्तै दोस्रो चरणमा माघ २८ गते देखि फागुन ३ गते सम्म आठराई त्रिबेणी गाउँपालिका सहित ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका सहित पाथीभरा याङवरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ ।

दोस्रो चरणमा आठराई त्रिबेणी गाउँपालिका सहित मैवाखोला गाउँपालिका,मेरिङदेन गाउँपालिका,मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेगरी तयारी तीव्र पारिएको छ । दुबै चरणमा गरी करिव ६ हजार ७ सय ८० जना किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालयको तयारी रहेको छ । ताप्लेजुङ जिल्लाका सम्पूर्ण बिद्यालय र स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र निर्धारण गरिएको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययरत तथा बिद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष भित्रको उमेर समूहका किशोरीलाई एचपिभी बिरुद्धको खोप दिन लागिएको हो ।

खोप अभियानका लागि स्वास्थ्य कार्यालयले ९ चरणका क्रियाकलापको कार्ययोजना तयार पारी सोहि अनुसार कार्यान्वयन गर्न थालेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलले जानकारी दिनुभयो । चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस(एचपिभी)का कारण हुन्छ । एचपिभीविरुद्धको खोपले पाठेघर मुखको क्यान्सर,गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

Similar Posts