मुक्कुमलुङ संघर्ष समितिको यातायात बन्द फिर्ता
-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २१ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहित सातवटा संघ संस्थाले आह्वान गरेको यातायात बन्द फिर्ता गरिएको छ । मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लाभित्र आइतबारदेखि आह्वान गरिएको अनिश्चितकालीन यातायात बन्द फिर्ता गरिएको हो ।
चार दिनअघि पक्राउ परेका संघर्ष समितिमा आवद्ध तीनजना युवा आइतबार साँझ रिहाइ भएसँगै बन्द फिर्ता भएको हो । पाथीभरा केबुलकारविरुद्ध संघर्षरत मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहित सातवटै संस्थाले आइतबार बेलुका संयुक्त विज्ञप्ति जारी गरी तत्कालका लागि यातायात बन्द स्थगत गरेको उल्लेख गरिएको छ ।
यातायात बन्द हाललाई फिर्ता वा स्थगन भए पनि केबुलकार खारेजी तथा मुक्कुमलुङ संरक्षणको आन्दोलन भने जारी रहेको विज्ञप्तिमा उल्लेख छ । अब बन्द फिर्ता भएसँगै सोमबारदेखि यातायातका साधनहरु सञ्चालन हुन पाउने भएका छन् । यता यातायात बन्द आह्वान गरिएका कारण आइतबार मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङका ग्रामीण सडकमा यातायात ठप्प हुँदा यात्रु मारमा परेका थिए ।