|

यातायात बन्द आह्वानले यात्रु मारमा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २१ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहितका संघ संस्थाले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । संघर्ष समितिलगायत विभिन्न सातवटा संघ संस्थाले आह्वान गरेको अनिश्चित कालिन यातायात बन्दका कारण ताप्लेजुङसहित पूर्वका जिल्लामा यात्रुहरु मारमा परेका हुन् ।
मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङभित्रका सडकमा आह्वान गरिएको अनिश्चित बन्दका कारण आइतबार यातायात सेवा ठप्प भएको छ । बन्द आह्वानका कारण आइतबार बिहानैदेखि ताप्लेजुङबाट बाहिरिने लामो तथा छोटो दूरीका यातायातका साधन साथै जिल्लाभित्र चल्ने साधनहरु चलेनन् । सवारी साधन नचल्दा यात्रु मारमा परेका हुन् ।
त्यस्तै यातायात ठप्प भएपछि ताप्लेजुङ भित्रने यात्रु तथा पर्यटक पनि प्रभावित भएका बताइएको छ । यातायात बन्दले अत्यावश्यक कामका लागि यात्रा गर्न लागेका यात्रु बढी प्रभावित भएका छन् भने ताप्लेजुङ भ्रमणमा आएका पर्यटक तथा आगन्तुक यहीँ रोकिएका पनि स्थानीय व्यवसायी बताएका छन् ।
यता बन्द आह्वान गरिए पनि सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालनका लागि सुरक्षाको प्रवन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार पाँचथर र इलाम जिल्लासँग समन्वय गरेर सञ्चालन गर्न चाहाने यातायातका साधनहरु सञ्चालनका लागि स्कटिङको प्रवन्ध मिलाइएको छ ।
उहाँले आइतबार प्रहरीको सुरक्षा अर्थात स्कटिङमार्फत सीमित सवारी साधन जिल्लाबाट बाहिरिएका छन् भने सोहीअनुसार भित्रिएका पनि छन् । दुई पाङ्ग्रे सवारी साधन भने निर्वाधरुपमै सञ्चालित छन् । यातायात बन्दका कारण अहिलेसम्म अवाञ्छित गतिविधि नभएको पनि उहाँको भनाइ छ ।
पाथीभरा (मुक्कुमलुङ) म। निर्माण हुन लागेको केबुलकार परियोजनाको विरोध गर्दै आइरहेका पक्षले यातायात बन्द आह्वान गरेका हुन् । गत पुस १७ गते मुक्कुम्लुङको संरक्षणका लागि जाँदै गरेका टोलीलाई तल्लो फेदीदेखि फर्काइनु, तीन जनालाई बिना कारण कुटपिट गरी प्रहरीले पक्राउ गरेको विरोधमा बन्द आह्वान गरेको उल्लेख गरेका छन् ।
संघर्ष समितिहरुले जारी गरेको विज्ञप्तिमा पक्राउ गरिएका तीनजना युवालाई विनाशर्त रिहाई गर्नुपर्ने, केवुलकार परियोजना खारेज र भर्खरै पाथीभरा क्षेत्रको तल्लो फेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प फिर्ता गर्नुपर्ने माग राखेका छन् । आफ्ना मागहरु पूरा नभएसम्म अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलनका कार्यक्रम जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts